काठमाडौँ – अमेरिकी समाचार संस्था फोर्ब्सले जारी गरेको सन् २०१६ को विश्वका १ सय शक्तिशाली महिलाको सूचीमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा पर्नुभएको छ ।
फोर्ब्सले हरेक वर्ष जारी गर्दै आइरहेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको सूचीमा नेपालले प्रवेश पाएको यो नै पहिलो पटक हो । उक्त सूचीको पहिलो स्थानमा जर्मन चान्सलर एन्जेला मर्केल पर्नुभएको छ । उँहा विगत १० वर्षदेखि शक्तिशाली महिलाको यो सूचीमा पहिलो स्थानमा रहँदै आउनुभएको छ । दक्षिण एसियामा सबैभन्दा शक्तिशाली महिलाका रूपमा भारतका अरुन्धाती बट्टचार्य २५ औँ स्थानमा र यस क्षेत्रका दोस्रो शक्तिशाली महिलाका रूपमा बङ्गलादेशका प्रधानमन्त्री सैख हसिना वाजेद ३६ औँ स्थानमा हुनुहुन्छ ।
एसियाली महिलामा सबैभन्दा शक्तिशाली महिलामा दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्वेन है १२ औं स्थानमा पर्नुभएको छ । उँहाले अमेरिकी प्रथम महिला मिसेल ओवामालाई पनि उछिन्नुभएको छ । म्यानमारकी राजनीतिज्ञ आङ सान सुकी २६ औं स्थानमा रहेको आजको नेपाल समाचारपत्रमा खबर छ ।