Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

कुरा २०६७ फाल्गुण २७ तदनुसार २०११ मार्च ११ गते जापानी समय दिउँसो २:४६ बजेको हो । जापानको पुर्वी भागमा आएको बिनाशकारी ९.० रेक्टरको महाभूकम्प र त्यसपछि आएको बिनाशकारी सुनामीको बारेमा थाहा नपाउने अर्थात थाहा नभएको ब्यक्ति सायद कमै छन् होला । उक्त सुनामीबाट ३० हजारभन्दा बढि मानिसको ज्यान जानुको साथै खरबौंको आर्थिक क्षति जापान सरकारले ब्यहोर्नु परेको र यहि महाभूकम्प र सुनामीको कारणले फुकुसिमास्थित आणबिक भट्टि बिष्फोटन र त्यहाँबाट निस्केको खतरनाक बिकिरणले मानब शरिरमा पर्ने क्षति साथै उक्त ठाउँबाट झण्डै ५० कि.मी वरिपरीसम्मको मानब बस्ति उठाउनु परेको लगायत त्यसैको कारण जापानमा रहने बिदेशी र स्वदेशीहरु ज्यान जोगाउन अथवा सुरक्षित ठाउँ खोज्न जापान छाडेको यथार्थ पनि सबैलाई अबगत नै छ । अब म पनि हो त्यही कालो शुक्रबार (Black Friday) को बारेमा केही शब्द लेख्दैछु ।

जुन ठाउँमा लगभग ३० हजार मानिसले आफ्नो जिन्दगीबाट बिदा लिए त्यही ठाउँमा पुनर्जन्म लिने म एउटा भाग्यावानी ब्यक्ति हुँ । जति मैले देखें, भोगें अनुभब र सामना गरें सायद तपाईहरु सबैले अबश्य गर्नुभएको छैन । म भगवानसँग प्रार्थना गर्छु कि हामी कसैले फेरि त्यस्तो भोग्नु नपरोस् । अब लाग्छु मैले देखेको सुनामीतर्फ, म उक्त समय सेन्दाईको नातोरि सी भन्ने ठाउँमा आफ्नै रेष्टुरेण्टमा काम गरिरहेको थिएँ । साथमा मेरो श्रीमति र एकजना साथी थियौं । उक्त समय लगभग दिउँसोको खाना अर्थात लन्च समय सिद्धिन लागेकोले खाना खाने ग्राहक पनि मात्र २ जना र एउटा सानो बच्चा थिए । म उहाँहरुकै खाना लगेर टेबलतिर जाँदै थिएँ । एक्कासी ठुलो भूकम्पको झड्का आईहाल्यो । म त एकैचोटी आफ्नै भाषामा बाहिर-बाहिर भन्दै उक्त खानासँगै बाहिरिन पुगेछु । फेरि पछाडीपट्टिको ढोकाबाट चिच्याएँ र मेरो श्रीमती र उनि स्टाफ साथी पनि किचनको ढोकाबाट बाहिरिन सफल भए । हामी रेष्टुरेण्ट बाहिरको पार्किङमा चिच्याईरह्यौं, भूकम्प लगातार गईनैरहेको छ, घरि यता त घरि उता लडबडाई रहेको छ । हामी हात गाँसेर राम राम भन्दै भगवानको नाम लिँदै बचाउ बचाउ भनिरहेका छौं । भूकम्पले फेरि हामीलाई भुँईमा पछारी छाड्यो, तैपनि हामी तीनैजना हात गाँसेर भुइँमा बसिरह्‍यौं, तर हामी बसेको जमिन नै दौडिरहेको थियो । त्यतिबेलासम्म हामीलाई लगभग ३ मिटर अर्थात ६ हात जति टाढा पुर्‍याई सकेको थियो र अझैपनि भूकम्प लगातार बढ्दै गइरहेको थियो । भित्र बसेका जापनी ग्राहक पनि बल्ल रातो र पिरो हुँदै बच्चा च्यापेर बाहिर निस्के, सायद उनीहरुले प्राय आईरहने साधारण भूकम्प भन्ठानेर वास्तै गरेनन्, जब यसको झड्का झन् झन् बढ्दै गयो अनि रेष्टुरेण्टका भाँडाकुँडा फ्रीज र अनि यस्तै अरु सामान पल्टिन थाले तब बल्ल उनीहरुले पनि सोचे कि अब खतरा छ भनेर, तब बल्ल उनीहरु निस्के । पुनः हामी एक गोल भएर बसरह्यौं, भूकम्प रोकिने संकेत छैन, गाडीहरुले अगाडीको बाटो थप्पै भएको छ, हामी उनै परमेश्वरको नाम जपिरहेका छौं । ती जापानी पनि यताउता फोन मिलाईरहेका छन्, कतै केहि सम्पर्क भएको छैन, लगभग ४५ मिनेट यो क्रम जारी नै रह्यो, अनि केहिबेर रोकिएपनि छिनछिनमा गइरहेको छ, त्यही समयदेखि पानी, बिजुली, ग्याँस र नेटवर्क सबै बन्द भयो । हामी अझै जिबित रहेको खबर आफन्तलाई जानकारी गराउन फोन हानिरहेका छौं, कतै लागेको छैन, कतै पनि नेटवर्क छैन, राती ८ बजेतिर मात्र एउटा एसएमएस (text message) टोकियोतिर पठाउन सफल भएँ र फोन प्रयास गर्दा गर्दै मोबाईलको चार्ज पनि सिद्धियो । सायद आफन्तहरुले पनि भूकम्पको खबर थाहा पाएपछि अर्थात टि.भि मा समाचार हेरेपछि त पक्कैपनि फोन हानिरहनु भएको थियो होला । तर फोन नै नलागेकोले हामी अझसम्म जिबित नै रहेको कुरा जानाकारी गराउन पनि सकिरहेको थिएनौं । धन्न त्यही एउटा मोबाईल मार्फत पठाएको म्यासेजले हामी जिबित मात्र भएको जानाकारी भएछ तर हालत के कस्तो छ भन्ने बारेमा कसैलाई पनि थाहा थिएन । जे होस त्यो स्थितिमा बाँचेको खबरले आफन्तहरुलाई पक्कैपनि खुशी अबश्य बनायो । पुनः सार्बजनिक बुथबाट फोन लाग्छ कि भनि केहि नजिक रहेको सुपरमार्केटमा गयौं तर त्यहाँ जाँदा उक्त सुपरमार्केटमा सुनामी अर्थात समुन्द्रि पानी पसिसकेको थियो र पनि त्यहाँ तत्काल पिउने पानी र खानेकुरा जस्तै फलफूल पाउरोटी ईत्यादी किन्ने जापानीहरुको लामो लाईन लागिरहेको थियो । कोहि रोहिरहेका थिए त कोहि आफैं अन्यौलमा परि सोखमा डुबिरहेका थिए ।

पुनः त्यही समयमा अर्को ठुलो भूकम्पको झड्का आयो फेरी केहिबेर भागम भागको स्थिती भयो । तर त्यहाँको फोनले पनि काम नगरेको थाहा पाएपछि फर्केर आफ्नै बासस्थानमा आएँ । समय बित्दै गयो अँध्यारो सुरु हुन थाल्यो, न पानी छ, न बिजुलि, न ग्याँस नै, अझ त्यसैमा भित्र बसौं छिनछिनमा भूकम्प गईरहेको छ । बाहिर माईनस डिग्री जाडो छ, बल्लबल्ल बाँच्न सफल भएको ज्यान, भित्र बसौं भने भूकम्पले थिचेर मार्ने पो हो की, बाहिर बसौं भने चिसोले कठ्याङ्ग्रिएर मरिने हो कि भन्ने डर । १,२ रात त पक्कै पनि चिसोले मरिने छैन बाहिरै बसौं भनेर रातभरि त्यो जाडोमा बाहिर पार्किङ स्थलमा नै बसिरह्‍यौं, मुखमा राम राम र आँखामा आँशु सिवाय अरु केहि छैन, म त बरु जसरी पनि आँफुलाई सम्हाली रहेको थिएँ तर मेरो श्रीमती चाहिँ नेपालमा रहेका छोराछोरीलाई सम्झँदै एकपटक छोराछोरीलाई देख्न पनि नपाई मरिने भईयो भन्दै घोप्टो परि रोई रहेकी छन् । हुन त मेरो पनि मुटु नचिरिएको त कहाँ हो र तर म आफुलाई सम्हाल्नै पर्ने बाध्यता थियो । त्यो अबस्थामा म आफु पनि कमजोर देखिँदा श्रीमतीको के हालत होला भन्दै आफुलाई सम्हाल्दै उनलाई सम्झाउँदै थिएँ । यसरी नै रातभरि बाहिर बसिरह्‍यौं, रातभर एम्बुलेन्स, प्रहरी, दमकल र उद्दार टोलीका गाडीहरु साईरन बजाउँदै गुडिरहेका थिए । बिहान उज्यालो पनि भयो र यो बिहानी मेरो लागि पूनःजन्मको पहिलो बिहानी थियो । रेष्टुरेण्ट र कोठा पनि एउटै कम्पाउण्डमा भएकोले एकपटक रेष्टुरेण्टभित्र हेरौं न के कस्तो छ भन्दै भित्र गयौं । त्यहाँ हेरि साध्य थिएन, कुनै सामान ठीक थिएन, बनाईएका सामान भुइँभरि यत्रतत्र थिए, फ्रिज, भाँडाकुँडा पल्टिरहेका थिए, कति त फुटेर टुक्राटुक्रा भएका थिए, हेर्न सक्ने स्थिति थिएन ।

केहिबेरपछि हाम्रै नजिकका एकजना जापानी आएर के कस्तो छ भनी सोध्दा त हामीलाई आफ्नै बुबा आमा अथवा भगवान नै आएर सोधे जस्तो लाग्यो । उनको कुरा अनुसार यहाँको इतिहासमा यस्तो महाभूकम्प गएको ७ सय बर्षपछि रहेछ । उनले भने – धन्न भगवानको कृपाले हामीहरु त बाँच्यौं तर तिमीहरुलाई थाहा छैन होला यहाँभन्दा आधा कि.मी अगाडी सुनामीले सबै मानब बस्ती ध्वस्त पार्नुको साथै कयौं मानिसहरु मर्नुको साथै हजारौं मानिसहरु हराईरहेका छन्, भूकम्प अझै पनि जान सक्छ नआत्तिकन बस भनी सम्झाएर गए । अनि हामी पनि के कस्तो भएको रहेछ हेरौं न त भन्दै साईकल लिएर उनले भनेको (प्रभाबित) ठाउँतिर लाग्यौं, केहि अगाडी मात्र के गएका थियौं त्यहाँ त हेरि नसक्नुको अवस्था थियो, सबै ठाउँ समुन्द्रमा परिणत भएको थियो, झन् अगाडी जाँदा त्यो ठाउँको नाम निशाना केहि छैन जुन ठाउँमा कत्रो बस्ति, कारखाना थिए ती सबै बढारेर यत्रतत्र बनाएको थियो, त्यहाँ थियो त केबल टुक्रा टुक्रा परेका घरका सरसामान, थिचोमिचो परेका गाडीहरु यस्तै यस्तै ईत्यादी । उद्दारकर्मी जापानी प्रहरी स्वयंसेवकहरु अझै त्यही पानीमा फसेका केही घरको छतमा उद्दारको प्रतिक्षामा बसेका पीडितहरुको उद्दार गरिरहेका थिए, घरको छतमा फसिरहेकाहरुलाई हेलिकप्टर मार्फत् उद्दार गरिरहेको थियो किनकी घरको दोश्रो तलासम्म समुन्द्र जस्तै समथल जलमग्न पानी र त्यही समुन्द्रले बढारेर ल्याएको गाडीहरु घरहरु ईत्यादीले भरिएको थियो ।

हामी अझ केहि अगाडी जाने कोशिस गर्‍यौं तर जान सक्ने स्थिति थिएन, त्यहीनेर सेन्दाई एयरपोर्ट पर्दथ्यो, तर सबै ठाउँ जलमग्न भएका कारण त्यहाँ एउटा टावरले मात्र एयरपोर्ट भएको स्थान भनेर संकेत गर्दथ्यो । त्यहाँ रहेका बिमानहरु समेत बगाएर यत्रतत्र पारेको थियो । केहि बेर त्यहीं एउटा पुलमाथी बसेर तिनै दर्दनाक दृश्यहरु हेर्‍यौं । भूकम्प र सुनामी भनेको के हो र कस्तो हुन्छ भन्ने कुरा पहिला सुनेको, पढेको र टेलिभिजनमा हेरेको मात्र भए पनि तर आज आफैंले भोग्नुको साथै आफ्नै अगाडी त्यस्ता अपत्यारिला घटना घटिरहेको दृश्य मेरा आँखाले हेर्न बाध्य भएका छन् । बिचरा कति रोहिरहेका थिए, गुहार मागिरहेका थिए, सबैको घर सुनामीले बगाएर लगेको थियो, हजारौं मान्छे हराईरहेका थिए, कतिका बाबा आमा लगेको थियो, कतिका छोराछोरी काखबाट नै चँडेर लगेको थियो, कोहि बच्चा बाबा आमालाई खोज्न जाउँ समेत भन्दै थिए, ती बच्चाबच्चीलाई थाहा थिएन की उनीहरुको बाब, आमा, दाजुभाई, दिदीबहिनी जो कसैलाई कहिल्यैपनि नफर्कने गरी त्यो राक्षशरुपी सुनामीले लगेको थियो । यस्तै यस्तै दर्दनाक दृश्यहरु देखेर हामीपनि आँखाबाट आँशु झार्दै फर्कियौं ।

अझैपनि भूकम्पका झड्काहरु छिनछिनमा गई नै रहेको थियो । अझै पनि हामीहरुको कसैसँग सम्पर्क हुन सकेको छैन, यसरी नै बहिर बसिरह्‍यौं, अनि त्यही हिजो बचेका खानेकुरा खायौं । पानीमा फसेकालाई उद्दारको लागि आकाशमा हेलिकप्टर उडिरहेका थिए, दैबले जे जति विनाश पारेपनि उद्दारको लागि जापान सरकारले कुनै कसुर बाँकी राखेको थिएन, उद्दार गरेर ल्याईएकाहरुको लागि तुरुन्तै गाँस, बास, कपासको ब्यबस्था गरिरहेको थियो । यता हामीहरुलाई के कति क्षति भयो भन्ने बारेमा केही थाहा छैन, सञ्चार सम्पर्क हुन नसकेका कारण घरपरिवार साथीभाईसँग सम्पर्क हुन नसकेका कारण उनीहरुलाई हामी बाँचे नबाँचेको केही थाहा छैन । देश-बिदेश बस्ने आफन्तहरुले त पक्कैपनि टेलिभिजनमा ती दर्दनाक दृश्यहरु देख्नुभएको थियो होला, हामी पनि त्यही ठाउँमा हो भन्ने पाउँदा र २-३ दिनसम्म सम्पर्क नहुँदा अवश्यपनि उहाँहरुलाई हामी जिउँदा छैनौं भन्ने लागेको थियो र यो लाग्नु पनि स्वभाबिक नै थियो । अझै त्यसैमा नेपालका कतिपय एफःएम ले हामी बसेको ठाउँकै नाम लिएर उक्त ठाउँमा केहि नेपाली मरेकोसम्म फुकेका थिए रे पछि सुनेको कुरा ।

यसरी नै दिन काट्दै गयौं र बेलाबेलामा तिनै नजिकका जापनीले हाम्रो हालखबर सोधिरहन्थे र हामीले पनि हामीहरु त्यो प्रभाबित ठाउँमा गएर हामीले देखेका र क्यामरामा खिचेका ती दर्दनाक फोटोहरु देखायौं, तर उनीहरुले हामीलाई गाली गरे, जुन एरियामा हामी गएका थियौं उक्त एरिया अझैपनि खतरामा रहेछ, जापान सरकारले अझै पनि उक्त एरिया खतराको रेखाभित्र परेको र अझै भूकम्प साथै सुनामी पनि आउन सक्ने सम्भाबना भएकोले सर्बसाधरणलाई उक्त एरियामा १, २ दिन नजान चेतावनी दिएको रहेछ, तर हामीलाई के थाहा । त्यसपछि चाहिँ डर लाग्यो ।

यस्तै बिस्तारै बिस्तारै अरु समाजसेवी पनि हामीलाई सोजखोज गर्न आउन थाले, कोहि खाना लिएर त कोहि पिउने कुराहरु लिएर दिन थाले । यसरी नै ४ दिन काटियो, ४ दिनको बेलुका बल्ल हाम्रो एरियामा बिजुली, फोन र ग्याँसहरु सुचारु भयो साथै मोबाईलको नेटवर्क पनि । अनि पहिला त जापानबासी आफन्तहरुलाई हाम्रो बारेमा र यहाँको स्थितिबारेमा जानाकारी गरायौं । साथै मोबाईलबाट बिदेश फोन नलागेकाले टोकियो रहने साथीभाई र आफन्त मार्फत् घरपरिवारमा हामी बाँचेको खबर पुर्‍याइदिन आग्रह गर्‍यौं, सबै हर्षले बिभोर हुनुभयो सम्पर्क भएपछि ।

लगत्तै जापान सरकारले केहि दिनको लागि सुनामी पीडितलाई देश बिदेश आफन्तहरुसँग सम्पर्क गर्न भनि अन्तरराष्ट्रिय फ्री फोन सेवा उपलब्ध गरायो र हामी पनि घरतिर आफन्तहरुलाई फोन गर्न लाग्यौं । उक्त बुथहरुमा मानिसहरुको लामो लाईन थियो, केहिबेरको प्रतिक्षापछि फोन गर्ने पालो आयो । पहिलो फोन घरमा लगाएँ, बुबा आमा सबै परिवारको आवाज मेरो कानमा पर्ना साथ हामी हजुरहरुको आशीर्बादले बाँच्न सफल भएका छौं भन्ने शब्द मात्र के बोलेको थिएँ अरु कुनै शब्द नै मेरो मुखबाट निस्कन सकेन, एक्कासी मेरो मुटुमा भक्कानो छुट्यो, आँखाबाट बलिन्धार आँशु बगिरहे, उताबाट पनि सबै रोहिरहेको सुनिन्थ्यो, आमाले रुँदै भन्नुभयो – “नरोउ छोरा, तिम्रो आवाज सुन्यौं, यहि नै हाम्रो सौभाग्य हो, यति दिनसम्म सम्पर्क नहुँदा अनि त्यस्ता समाचार सुन्दा र हेर्दा हाम्रो पापी मनले पनि के के सोचेको थियो, अनि अरुहरुले पनि सुनामी गएको ठाउँ तुलसीहरु (हामीहरु) भएको ठाँउ हो र अझ केहि सम्पर्क भएको छैन भन्दा हामी सबै शोकाकुलमा डुबेका थियौं, अबस्था जेजस्तो भएपनि शरिरलाई केहि भएनछ, यहि नै हाम्रो लागि गौरबको कुरा हो । जेहोस् आज तिम्रो बोली सुन्न पाउँदा हर्षले बिभोर छौं, हाम्रो आशीर्बाद तिमीहरुको साथ छ र भगवान सँग प्रार्थना गरि बसेका छौं । बरु सम्भब भए त्यहाँबाट अन्यत्र जाने कोशिस गर ।” यस्तै यस्तै भनिरहनु भएको थियो, तर मेरो मुख बाट घुँक्क घुँक्क शिबाय कुनै शब्द निक्लिएको थिएन ।

अनि फेरी चितवन होस्टेलमा बसेका मुटुका टुक्रा छोराछोरीलाई सम्पर्क गर्‍यौं, फोन उठाउने सरलाई यहाँको सुनामीको बारेमा सुनाएपछि उहाँले दुःख प्रकट गर्नु भयो अनि बाबु नानीलाई बोलाईदिनु भयो र उनीहरुसँग पनि कुराकानी भयो । सायद उनीहरुलाई यताको हाम्रो बारेमा त्यति थाहा पनि थिएन होला तैपनि भन्दै थिए त्यहाँ त के के भएको छ रे अनि तँपाई मम्मिलाई के कस्तो छ भन्दै थिए, बिचरा ती छोराछोरीलाई के थाहा कि उनीहरुको भाग्य र भगवानको आर्शिबादले उनीहरुको जिन्दगीमा आईलाग्ने ठूलो बिपतबाट जोगिएको । मैले पनि साधारण तरिकाले हामी सबै ठिक छौं भने तर छोराछोरीको त्यो बोलीसुन्दा यो मेरो मन यस्तो भयो कि साँच्चै त्यो स्थितिमा भगवानले साथ नदिएको भए आज म मेरा प्राणभन्दा पनि प्यारा छोराछोरीको यो मिठो आवाज सुन्न पाउने थिईन भन्दै भगवानलाई पुनः एकपटक धन्यबाद भन्दै गहभरि आँशु झार्दै उनीहरुबाट बिदा लिएँ ।

साथै अन्य आफन्तहरुलाई पनि सम्पर्क गरी हामी जीवित रहेको जानकारी गरायौं । उहाँहरु पनि सबै एकदमै खुशी हुनुभयो । हामी पनि पुनर्जन्म लिएर पुनःआफन्तहरु सँग बोल्न पाउँदा, उनीहरुको कुरा सुन्दा हाम्रो मुटुको भक्कानो छुटेर आयो र हामी केहिबेरत रोहिरह्यौं । साँच्चै हाम्रा आफन्तहरु कसैलाई पनि हामी जीवितै छौं भन्ने बिश्वास नै रहेनछ, त्यसैले त झन् हाम्रा आँखाबाट बलिन्धार आँशु बगिरहे ।

यसरी नै दिन बित्दै गए, ५ दिनको दिन यहि एरियामा एकजना बिद्यार्थी भाई पनि हामी भएकै ठाँउमा आएर भने- मरे पनि सँगै एकै ठाउँमा मरौंला, दुःख सुख जे जस्तो छ बाँडिचुँडि खाउँला । हामी पनि एकदमै खुशी भयौं, दुःख सुख गुजारा गर्दै बस्यौं । सरसामान कतै केहि पाईदैन, कुनै पनि पसलमा केहि सामान पाईदैन, जतासुकै हाहाकार मच्चिएको छ । सडकहरु भास्सिएका छन्, कतैबाट कुनै सामान आउन पाएको छैन, सडक अबरुद्धको कारण नेपाल बन्द जस्तै जापान बन्द भइरहेको जस्तो । केही सडक भास्सिएका छन्, केही त गाडी नै भित्र पस्नेगरि चिरिएका छन्, त्यसैले कतैबाट कुनैपनि सामान सप्लाई हुने सम्भाबना छैन ।

सामान्यतया दिनमा ७, ८ पटक भूकम्प गईनैरहेको छ अझै पनि, हामी पनि शरिरमा टन्न कपडा लगाएर, एकजोडी कपडा, आफ्नो पासपोर्ट र भएको खर्च झोलामा राखी त्यही झोलालाई शिरानीमा राखेर सुत्न, बस्न थाल्यौं, कतिखेर के हुने हो कसैलाई थाहा छैन । अनि सम्पर्क भएका सबैले अलग अलग सल्लाह सुझाब दिइरहनु भयो, कसैले तत्कालै त्यो ठाँउबाट बाहिर निक्लनुस् भने कसैले त्यो एरिया अझ झन् खतराको सिमा भित्र छ ईत्यादी ईत्यादी ।

कुरा के थियो भने यहि राक्षसरुपि महाभूकम्प र सुनामीले क्षतिग्रस्त बनेको फुकुसिमास्थित आणबिक भट्टि हामी भएको ठाउँबाट ८० किलोमिटरको दुरिमा पर्दथ्यो । २, ३ वटा बिस्फोट भईसकेको र अर्को खतरनाक ठुलो बिस्फोट हुने अबस्थामा रहेको र त्यो बिस्फोट भयो भने त्यसबाट फैलिने बिकिरण टोक्योसम्म पुग्ने र त्यसले मानब शरिरमा ठुलो असर गर्दथ्यो । उक्त भट्टिबाट टोक्यो २३० किलोमिटर टाढा पर्छ, हामी त जम्मा ८० कि.मी मात्रको दुरिमा थियौं । जापान सरकारले पनि २० कि.मी भित्रको बस्तिमा रहेका बासिन्दालाई तुरुन्त उठाउने र २० देखि ३० कि.मी को बासिन्दालाई सर्तक रहन, सकेसम्म बाहिर ननिस्कन, निस्कँदा माक्स लगाउन, आकाशबाट परेको पानीमा नभिज्न इत्यादी कुरामा अर्लट गरेको थियो ।

भूकम्प र सुनामीका कारण जापान छाड्ने खासगरि बिदेशीहरुको ताँती नै लाग्न थालेको थियो र हाम्रा पनि कति साथीहरु हामी त फलानो फलानो यति गते नेपाल जाँदैछौं, यस्तै यस्तै कुराहरु हुन थाले । हुन पनि जुन खतराको एरियाभित्र अथवा आसपासमा रहने बिदेशीहरु आफ्नो देशको राजदुताबासको सहयोगमा स्वदेश अथवा सुरक्षित ठाउँमा गईसकेका थिए । हाम्रो दुताबासको त कुरै छाडौं, उसलाई यति पनि थाहा थिएन कि उक्त एरियामा हाम्रा नेपाली पनि फँसेका छन् । फेरी पनि मैले टोक्योस्थित नेपाली दुताबासमा फोन गरि हाम्रो बारेमा, यहाँको स्थितिको साथै उद्दारको लागि अनुरोध पनि गरें, तर उनीहरुलाई मेरो सबै कुरा सुन्ने समय पनि थिएन । उनीहरुले हामीसँग गाडी छैन, कतै गाडी मिलेपछि पठाउँछौ र खबर गछौं भने । मैले हुन्छ सर खबर गर्नको लागि मेरो मोबाईल नम्बर टिप्नुस् भन्दा मलाई अरु फोन आईरहेका छन् भन्दै नम्बरसम्म नोट नगरी फोन काटी दिनुभयो । बिदेशमा बस्ने आफ्ना नागरीकको अभिभाबक हाम्रा राजदुतले पुनः एकपटक खाटा बस्न लागेको घाउमा कोट्टाएर नुन छर्के जस्तो लाग्यो, मुटु चिरिएर आयो । र एकपटक हाम्रा देशमा राजनेताको पगरी गुतेर जनताको रगत चुस्न पल्केका नेता बिदेशमा आफ्ना नागरिकलाई मर्दापर्दा रेखदेख गर्न अभिबाभकको रुपमा रहेपनि आफ्नो भत्ता र तनखा पचाउन मात्र बसेको राजदुतलाई धिकार्नु शिबाए केहि थिएन मसँग, त्यही गरें ।

तत्कालै यहाँबाट बाहिर निस्कने यातायात पनि थिएन । अनि हामीले आपसमा सल्लाह गर्‍यौं, यहाँ के हुने हो थाहा छैन, पहिला त ज्यानै जोगाउनु पर्‍यो भनी रि-इन्ट्री अनुमतिको लागि इमिग्रेसन जाने निस्कर्षमा पुग्यौं । फेरि भूकम्पको अघिल्लो दिनमात्र मेरो भिसा रिन्यूको लागि इमिग्रेसनमा निवेदन दिएको थिएँ, तैपनि के हुन्छ त्यहीं गएर बुझौंला भनी इमिग्रेसन जाने निर्णय गर्‍यौं । त्यहाँसम्म जानको लागि कुनै साधन पनि थिएन, झण्डै ५ कि.मी जति साईकलमा गयौं र त्यहाँबाट ट्याक्सी भेटिएकोले त्यसैमा सेन्दाई इमिग्रेसनमा पुग्यौं । त्यहाँ पनि धेरै बिदेशीहरु थिए रि-इन्ट्री अनुमति लिनको लागि । मैले केहि दिन अगाडी पेश गरेको भिसा रिन्यूबारे सोधें, इमिग्रेसनले पनि यस ठाउँको हालत देखेर बिना आगाकानी थप भिषा र रि-इन्ट्री अनुमति दियो । हामी सबैले रि-इन्ट्री अनुमति लिएर फर्कियौं । फर्किंदा पहिला ट्याक्सी चढेको ठाउँमा छोडेको साइकलमध्ये मेरो श्रीमतिको साईकल अरु कसैले लगेछ । यहि साईकल हराउनुको कारणले बिर्सन नसक्ने अर्को एउटा घटना घट्यो । विद्यार्थी साथीको गियरवाला साइकल चलाउन सजिलो हुने भएकोले श्रीमतिलाई उक्त साइकल पछाडि बस्न लगाएर हामी कोठातिर लाग्यौं । त्यतिखेर हिउँ पनि पर्न सुरु गरेकोले साइकल तीब्र गतिमा गुडाएका थियौं । केहि अगाडी आईपुग्दा त्यहाँ भूकम्पले चिरिएको बाटोमा सावाधानीको लागि एउटा रोड ब्लक राखिएको थियो । बाटो एकदमै साँगुरो थियो । त्यो रोड ब्लकमा श्रीमतिको खुट्टा ठोकिएर उनी साइकलबाट लडिन् र बाटोमा उनको टाउको बज्रिएछ । म चाहिँ केही पछि थिएँ, त्यहाँ आइपुग्दा उनले भनिन् – छोरा छोरी देख्न नपाई मर्ने भएँ । हे भगवान् भन्दै म पनि म आफुले टेकेको जमिन नै भासिएर गए जस्तै लागेर अल्तालीन पुगें, त्यो स्थिति देख्दा उनी झन् बेहोसीको अबस्थामा पुगिन् । एकजना जापानीको सहयोगमा एम्बुलेन्स बोलाएर तत्काल त्यहीं प्राथामिक उपचार गरि त्यही एम्बुलेन्समा राखेर अस्पताल पुर्‍यायौं । तिनै जापानीले एउटा पानीको बोट्टलसम्म दिएर हामीलाई नआत्तिनु भन्दै बिदा गरे । एउटा असल मानिसले बिपतमा परेको अर्को मानिसलाई गर्ने यहाँभन्दा ठुलो कर्तब्य केहि छैन होला । फेरि अस्पताल उत्तिकै प्याक भूकम्प र सुनामीका घाईतेहरुका कारण । उक्त अस्पतालमा टाउको सम्बन्धि एउटा पनि डाक्टर नभएकोले हामीलाई अर्को अस्पतालमा रिफर गर्‍यो, फेरी अर्को एम्बुलेन्स लिएर अर्को अस्पताल गयौं । उनलाई सिधै आकस्मिक कक्षमा लगियो । यसबीचमा मेरो मनमा के कस्ता कुरा खेले, दुःख पीडा के भयो यहाँ लेखेर साध्य पनि छैन ।

केहीबेरमा श्रीमतिको रिपोर्ट आयो, डाक्टरले खासै ठूलो चोट छैन तर केही दिन आराम गर्नुपर्छ भनेपछि धेरै खुशी हुँदै अस्पतालबाट बाहिरियौं । बाहिर निकै नै हिउँ परेको थियो, तापक्रम पनि –४ डिग्री, यातायात केही चलेको छैन, त्यसमाथि बिरामीको हिड्न सक्ने हालत छैन । बिरामीलाई डोराउँदै एक किलोमिटर जति हिंडे पछि बल्ल एउटा ट्याक्सी मिल्यो र त्यसैमा कोठातिर लाग्यौं ।

भूकम्प जाने क्रम भने रोकिएको छैन, अझै ठूला-ठूला झड्का गईरहेका छन् । उता फुकुसिमास्थित आणबिक बिष्फोटनका खबरहरु झनझन हाईलाईट बन्दै गएका छन् । हे भगवान के यस्तो हुँदैछ, यदि मार्नु नै छ भने किन यति तड्पाएर मार्न खोज्दैछौ ? यसरी नै प्रश्न गर्दै भगवानको नाम जप्दै बसिरहेका थियौं । त्यस्तै लगभग राती ९, १० बजेतिर हामीले थाहा पायौं कि नेपालीहरुको उद्दार टोली टोक्योदेखि बस लिएर आएको छ रे । अनि मैले उहाँहरुलाई सम्पर्क गरें, हामी सबैको अबस्था अनि बिरामीको बारेमा पनि सम्पूर्ण कुराहरु बताएर सेन्दाई (मेन जक्सन) मा जम्मा हुनुभएका साथीहरुलाई उठाएर हामीलाई पनि उद्धार गर्नुस् भन्दै बिन्ति गरें । तर उहाँहरुको बोलाई शैली अनि गैरजिम्मेबारीपनले यस्तो लाग्थ्यो कि उहाँहरु उद्धारको लागि नभएर उद्धारको देखावटी मात्र गरिरहनु भएको थियो । उहाँहरुलाई कुनै ब्यक्तिगत रिसिबीले यस्तो भन्न खोजेको होईन, उहाँहरुले जुन पद र शब्दको दुरुपयोग गर्नुभयो, जस्तै मेरो अबस्थाको बारेमा माथी नै उल्लेख गरिसकेको छु यस्तो हालतसँग संघर्ष गरिहेको छु अनि उद्धार गर्न आएका ब्यत्तिहरु भन्छन् कि तपाई यहाँ अर्थात् सेन्दाइमा उद्धार टोली भएको ठाउँमा आउनुहोस् बरु हामी केहिबेर बस्छौं । उक्त ठाउँ यहाँबाट २० कि.मी को दुरीमा छ, सार्बजानिक यातायात चलेका छैनन्, २/४ घण्टा लगाएर हिंडेर जान पनि बिरामीको हालत त्यस्तो अनि बाहिर हिउँ बर्सिरहेको अवस्था, यो त सम्भव हुन नसक्ने कुरा थियो । अझ पनि म बिनम्र अनुरोध गरिरहेको थिएँ, आखिर उक्त बस यहि रुट हुँदै टोक्यो जाने हो जुन बाईपासमा हामी छौं । उहाँहरु भन्नुहुन्छ जाने भए यहिं आउनुहोस् नत्र हामी जान्छौं, बाईपासमा गाडी रोक्न मिल्दैन । हो बाईपासमा नरोक्नुहोस् ठीक अगाडी पेट्रोलपम्प छ त्यहाँ २० सेकेण्ड त रोक्न सकिन्छ भन्दा पनि आफ्नै जिद्धी गरेर हामीलाई त्यसै छाडेर त्यहाँ जम्मा हुनुभएका केहि साथीहरुलाई उठाएर लानु भो । सायद उहाँहरुलाइ उद्धार भन्ने पबित्र शब्दको ज्ञान नभएर नै होला, यदि थाहा हुन्थ्यो भने त जो ब्यक्ति झन् बढि बिपतमा फसेको छ उसलाई पहिलो प्राथामिकता दिनुपर्ने थियो, मेरो मतलब यो होइन कि अरु साथीहरुलाई उद्धारको जरुरी थिएन । हो उहाँहरु पनि उद्धारकै प्रतिक्षामा हुनुहुन्थ्यो तर हामीलाई यो स्थितिमा छाडेर जानु उद्धार भन्ने शब्दलाई गद्दारमा परिणत गरेको उहाँहरुको यहि ब्यवहारबाट छर्लङ्ग हुन्छ ।

यसरी नै हाम्रा दिनहरु बितिरहेका थिए र शरिर पनि यस्तो भईसकेको थियो कि कसैको आवाज आएपनि भूकम्प नै गएजस्तो हुन थाल्यो । एकदिन भूकम्पको झड्का आएन भने पनि आज के भएन के भुलियो, के को कमी भयो जस्तो अनुभूति हुन थालेको थियो । सायद त्यस्तो नहोस् भनेर नै हो कि दिनमा जेहोस् २/३ पटक भूकम्पको झड्का आइरहन्थ्यो ।

यता उता सम्पर्क पनि भई नै राखेको थियो । साथीभाई आफन्तहरु हामी त घर जाँदैछौं, यहाँको हालत चाँडो ठीक होला जस्तो छैन भनिरहन्थे । आणबिक भट्टि बिष्फोटन भएपछि त्यसबाट फैलिएको बिकिरणहरु मानिसको शरीरमा भेटियो रे र यसले मानब जीवनमा यस्तो उस्तो असर गर्छ रे अनि तपाईहरु भएको ठाउँ त झन् खतराभित्र पर्दछ रे त्यसैले तपाईहरु पनि जतिसक्दो चाँडो त्यहाँबाट बाहिरिने कोसिस गर्नुहोस् यस्तै यस्तै भनिरहनु भएको थियो आफन्त, साथिभाई लगायत सबै शुभचिन्तकहरुले ।

अब बिस्तारै लामो दुरिका गाडीहरु पनि हल्का चल्न थालेका थिए, तर बाहिर जाने मानिसको चापले तर टिकट पाउन एकदम मुस्किल थियो । हामीले यताबाट टिकट पाउन नसकेकोले एकजना जापानीले टोकियोबाट नै ईन्टरनेट मार्फत् हामीलाई टोकियोसम्म जाने टिकट उपलब्ध गराउनुभयो । र हामी घटना घटेको लगभग २ हप्तापछि बल्ल टोकियो प्रस्थान गर्ने तयारी गर्‍यौं ।

आजसम्म कसरी शरिर बचाउने भन्ने थियो, भगवानको कृपाले शरिर पनि बाँच्यो र उक्त ठाउँबाट बाहिर निस्कन सफल भएपछि बल्ल सोचाई पर्न थाल्यो आफ्नो यत्रो पैसा लगानी गरेको रेष्टुरेण्ट । यो अबस्थामा बन्द गर्नु त ठिकै हो । अब कसरी ताला लगाएर जाने, भोली यहाँ फर्कने अबस्था हुने हो कि होइन, मेरो लागि त एउटा जहाज नै डुबे जस्तो नै थियो, त्यही पनि मुटुमा गाँठो पार्दै गहभरि आँशु झार्दै ताला लगाएर आफ्ना अति आबश्यक सामानहरु कुम्लो पारेर पुनः एकपटक बाहिरबाट रेष्टुरेण्टलाई एक नजर लगाएर टोकियोतिर प्रस्थान गर्‍यौं ।

यसरी नै मनभरि कुरा खेलाउँदै साढे ४ घण्टाको बस यात्रापछि टोकियो पुगियो । टोकियो पुगेर भेटघाट हुने क्रम जारी भयो, सबै दाजुभाई तथा आफन्तहरु हामीहरुलाई देख्दा एकदम खुशी हुनुभयो । त्यो हालतमा संघर्ष गरेर सकुशल यहाँ आई भेटघाट हुन पाएकोमा बधाई पनि दिनुभयो । हामी त झन् एउटा नयाँ जन्म लिएर यसरी आफन्तहरु सँग भेटघाट हुँदा हर्षका आँशु नखस्ने कुरै भएन, दुःख सुख बाँड्यौं एक आपसमा ।

विभिन्न मिडिया, समाचारहरुले फुकुशिमास्थित आणबिक भट्टि बिष्फोटन र त्यसबाट मानव जीवनमा पर्न सक्ने असरबारे बताइरहेका थिए । यसैकारण जापान छोड्नेहरुको क्रम बढिरहेको थियो । कोही एयरपोर्टतिर लागेको थिए भने कोही रि-इन्ट्री अनुमतिको लागि इमिग्रेसन धाइरहेका थिए । यस्तो हालत देख्दा हामीहरु झन् अन्यौलमा थियौं । अनि हामी दाईभाई लगायत सबैले हल्लाकै पछि चाँहि नलागौं, तयार भएर बसौं र हेरौं भन्ने निस्कर्ष निकाल्यौं । किनकी यो पनि आ-आफ्नै बाध्यता थिए, कसैको भिसा समस्या, कसैको व्यापारिक लगानी आदि । बिस्तारै केहि सन्तोषजनक खबरहरु सुनिन थाले, अब भट्टिको अबस्था बिस्तारै सुधार हुँदैछ भन्ने ।

यस्तै भेटघाट गर्दै अनि समाचार सुन्दै टोकियोमा लगभग १० दिन जति बस्यौं । त्यसपछि हामी पहिला बसेको ठाउँमा फोन गरी बुझ्दा त्यहाँको स्थितिमा केही सुधार आएर र बिस्तारै यातायात पनि सुचारु भएको अनि महंगै भएपनि सामान सप्लाई हुन थालेको बुझेपछि हामी पुनः आफ्नै ठाउँमा फर्किएर व्यवसाय सूचारु गर्ने निर्णय गर्‍यौं र टोकियोबाट बिदा भएर पुनः सेन्दाई आयौं ।

सार्बजानिक लोकल यातायात अझैपनि चलेका रहेनछन् । हाम्रो रेष्टुरेण्ट वरपरको गाउँ बजार सबै अझै पनि सुनसान र शोकाकुलमा डुबेको थियो । आज भोली गर्दा गर्दै चहलपहल बढ्दै गयो, त्यो ठाउँको अवस्था हेर्न आउनेको संख्या पनि बढ्दै गयो अनि पुर्नबासको संख्या पनि बढ्दै जाँदा पुरानै स्थितिमा आउन सुरु भईहाल्यो । घटना घटेको लगभग एक महिनापछि एयरपोर्ट पनि सुचारु भयो । साँच्चै देश र जनताले चाहेमा गर्न नसकिने के नै रहेछ र भन्ने उदारण बनाएर देखाईदिएका थिए जापानीहरुले ।

यस्तै चहल पहल बढ्न थालेपछि मेरो व्यपारमा पनि सुधार आयो जुन मैले सोचेको पनि थिईन । घटना घट्नु अगाडीभन्दा झन् बढि सुधार आएको देखेपछि म पनि खुशि भएँ । आज यो लेख्ने दिनसम्म पनि यसै पेशामा संघर्ष गरिरहेको छु । बिस्तृत रुपमा मैले देखेको सुनामी र भोगेको अनुभब सबैप्रति बाँड्न पाउँदा खुशि लागेको छ । मेरो भनाईमा कुनै त्रुटि भए माफ गरिदिनुहोला । केही सल्लाह सुझाब भए मेरो इमेलमा सम्पर्क गर्नसक्नु हुनेछ ।

धन्यबाद ।

– तुलसी सापकोटा

बाग्लुङ-८ भान्सा (हालः मियागी केन, सेन्दाई, जापान)

इमेलः [email protected]

तपाईको प्रतिक्रिया