काठमाडौं – पछिल्लो समयकी लोकप्रिय लोकगायिका मुना थापा मगर संख्यात्मक र गुणात्मक दुवै हिसाबमा अगाडि छिन् । गायन करिअर सुरु गरेको ११ वर्ष बित्न नपाउंदै करिव दुई हजार गीतमा स्वर रेकर्ड गराएबाट पनि उनको सफलता आंकलन गर्न सकिन्छ । तीमध्ये अधिकांश गीतहरु विरहपूर्ण र मार्मिक छन् ।
गोरखा मनकामना गाविसको सिलाङछापमा जन्मेकी उनले आफ़्नो पहिलो गीत स्वरुप ‘केबुलकारमा गेट….’ बोलको लोकभाका रेकर्ड गराएकी थिइन् । जड्यांहा पोइ…., रुवायो साराले…, तीते करेलीले…., चिसो-चिसो हावा सरर…., तिमी राम्रो हाँसोले…., तिल फुल्यो कि तोरी…. लगायतका गीतहरु उनको चर्चित गीतहरु हुन् ।
प्रत्यक्ष दोहोरीमा कहलिएकी थापामगर आफ़्नो स्वर सुनाउन १६ देश र नेपालका ४० भन्दा बढी जिल्ला पुगिसकेकी छिन् । उनै सुमुधुर स्वरकी धनी लोक गायिका मुना थापा मगरसंग समुद्रपारिले गरेको कुराकानीको सम्पादित अंश :
असल व्यक्तिमा हुनुपर्ने ३ वटा गुणहरु के के ?
साधारण व्यक्तित्व, स्वच्छ विचार र इमान्दारिता ।
काममा प्रभाव पार्ने ३ कुरा के के हुन् ?
क्षमता, प्रविधि र अरुको सहयोग र साथ हुनुपरयो ।
सांगीतिक क्षेत्रमा नलागेको भए अहिले कहाँ हुनुहुन्थ्यो ?
मलाई लाग्छ मलाई जन्मिदै भगवानले कलाकार नै बनोस् भनेर पठाएका थिए, त्यसले गर्दा कलाकारवाहेक कतैतिर पनि सोच जागेन र चाख पनि बढेन । गीत संगीतवाहेक अन्य व्यवसाय होस् या अरु कुनै जे होस्, कही पनि सोच्नै सक्दिन र सोचिन । मलाई अर्को जन्ममा पनि कलाकार भएरै जन्मिन पाए हुन्थ्यो जस्तो लाग्छ ।
कहिलेकाँही सांगीतिक क्षेत्रमा लागेर पछुतो लाग्दैन ?
मलाई कहिल्यै त्यस्तो पछुतो त छैन, तर कहिलेकाँही काम गर्दै जाँदा विभिन्न दुःख र पीडा हुन्छ त्यतिबेला सोच्छु कि किन मैले यस्तो क्षेत्रमा हात हालेछु भन्ने हुन्छ । तर जस्तै पछुतो र पीडालाई पनि मैले आफ़्नो मिहेनेतको रुपमा लिएकी छु ।
कलाकारिता क्षेत्रमा हासिल गरेको उपलब्धि ?
मैले पाउनलाई त धेरै पाएको छु तर गुमाउनलाई चाँही केही पनि गुमाएको छैन जस्तो लाग्छ । धेरै प्रशंसकहरु कमाएको छु, श्रोताहरुको माया पाएको छु ।
तपाईंले प्रायः विरहले भरिएका मार्मिक गीतहरु गाउनुहुन्छ नि ! किन ?
सबै गीतहरुको भाव एउटै हुदैन । कुनै गीतले रोमान्टिक भाव बोकेको हुन्छ त कुनैले विरहका भाव बोकेको पाईन्छ । त्यसै भाव अनुसारको स्वर मिलाउन जरुरी हुन्छ । अनि मेरो स्वर विरहीपूर्ण तथा मार्मिक गीतमा सुहाउँदो छ भन्ने धेरैबाट सुझाव आएकोले विरहका गीतहरुलाई प्राथमिकता दिएको हुँ । तर मैले रोमान्टिक पनि नगाएको हैन । मैले आफ़्नै प्रस्तुतिमा ‘तिमी राम्रो हाँसोले…..’, ‘तिते करेलीले……..’ बोलको गीत गाएको थिए रामजी दाईसँग मिलेर, जुन गीतले आम श्रोताहरुको धेरै माया पाएको छ ।
तपाईंलाई सुरुमा कुन गीतले चिनायो ?
‘चिसो चिसो हावा सरर, रुमाल फरर…’ भन्ने गीतले मलाई चिनायो । यो गीत शिव हमाल र लय रामजी खा“डको हो । यसपछि ‘तीते करेली…..’ भन्ने गीतले झनै चर्चामा ल्यायो । राजु गुरुङको एल्बममा यो गीत गाएकी थिएं । लय रामजी खांडको र शब्दहरु रमेश बिजी दाइले लेख्नुभएको हो ।
हाइस्कुल पढ्दै गर्दा पढाई नै हापेर गीत गाउन लाग्नुभयो, पढाई पुरा नगरेकोमा पश्चाताप छैन ?
मलाई गीत, संगीतले यति मोहनी लगायो कि काठमाडौं पस्न हतार भयो । अनि गायिका बन्ने भूत चढ्यो । पढाई पुरा नगर्दा कहिलेकाँही पछुतो
लाग्छ । पढाईकै कारणले धेरै ठाउँबाट वञ्चित हुन पुगेको छु । कहिलेकाँही त पढाईकै कारण आफु होच्चिनु पर्दा कोठामा ढोका थुनेर रोएकी पनि छु । तर अहिले त्यस्तो अनुभव छैन । आजभोलि यही गीतसंगीतकै कारणले परिचित बनाएको छ । देशविदेशको कार्यक्रममा जाने अवसर पाएकी छु ।
त्यसपछि कसरी अघि बढ्नुभयो ?
त्यो बेला दोहोरीको माहोल तातिरहेको थियो । मेरा गाउं“तिरको दाइ गणेश गुरुङ दोभान दोहोरी सांझमा काम गर्नुहुन्थ्यो । त्यो दोहोरी साँझ गायक रेशम गुरुङ दाइको थियो । उहाँहरुसंग मेरो चिनजान भयो । गणेश र रेशम दाइको कारण त्यहां मलाई काम पाउन सहज भयो । मैले तीन वर्ष त्यहां काम गरें ।
काठमाडौंका दोहोरीसाँझ हुंदै स्टेज र स्टुडियोसम्म तपाईकै धेरै माग भएको पाइन्छ । अहिले सम्झिदा कस्तो लाग्छ ?
दर्शक, श्रोताहरुको माया पाउंदा खुसी लाग्छ । सबैले चिन्ने भएकी छु । यहांसम्म पुगौंला भन्ने पनि सोचेको थिइन । मिहिनेतको फल पाएको अनुभूत गरेकी छु ।
अन्य दौतरीहरुसंग भेट हुंदा के भन्छन् ?
खुसी ब्यक्त गर्छन् । के गर्नु हाम्रो विवाह भयो । हामी बच्चा च्यापेर बसेका छौं तिमी भने देश, विदेश घुमिरहन्छौं भन्छन् । पहिले पहिलेका दिनहरु सम्झिन्छौं । रमाइलो लाग्छ ।
जीवनका सपनाहरु ?
ठूलो सपना त त्यस्तो केही छैन । लोक, संगीतमा लागिरहने, दर्शकहरुको माया पाईरहने । धेरैजनाको प्रिय गायिका बन्ने बश यत्ति ।
लोक गीत संगीत भन्दाभन्दै उमेर ढल्कदै गएको छ, विवाहको सुरसार के हुँदै छ ?
मैले अहिले विवाहको बारेमा केही सोचेकी छैन । (हल्का हांसो)
कस्तो जीवनसाथी होस् भन्ने लाग्छ ?
मेरो जीवनसाथीले माया मात्र गरेर भएन । म कलाकार हो । मेरो पेशा बुझने खालको हुनुपर्छ । कला, सँस्कृतिलाई बुझने खालको र इज्जत गर्ने खालको होस् भन्ने चाहान्छु ।
प्रस्तावहरु कत्तिको आउँछन् ?
फूल भएको ठाउंमा भमरा त डुलिहाल्छ नि, प्रस्ताव गर्ने मान्छेहरु त कति हुन्छन् कति । कार्यक्रमका सिलसिलामा विदेश जांदा कति जना पछि लाग्छन् । तर आफूले पनि सोच्नुपर्योा नि । विवाह गर्दा पछिसम्मका लागि पनि सोच्नुपर्योन । सबैभन्दा मुख्य कुरा मेरो भावना बुझने खालको, मलाई सहयोग गर्ने खालको हुनुपर्योु ।
ब्वाईफ़्रेण्ड के गर्नुहुन्छ ?
पत्याउन गाह्रो होला, मेरो ब्वाईफ़्रेण्ड नै छैन । म अहिलेसम्म सिंगल छु । म एकदमै स्वतन्त्र छु । अरु कतिपय साथीहरुको देख्छु, कार्यक्रमका सिलसिलामा स्टेजमा शो गर्न जांदा फोन आएर टेन्सन भइरहेको हुन्छ । अरुको दबाबमा बस्नुभन्दा स्वतन्त्र जीवन नै रमाइलो लाग्छ । जे काम गर्दा पनि आफै निर्णय गर्न पाउंछु ।
अन्तमा केहि भन्नु छ कि जापानका नेपालीहरुलाई ?
जापानको लोकप्रिय पत्रिका नेपाली समाचारमार्फ मलाई आफ़्ना भनाईहरु राख्ने अवसर प्रदान गर्नुभएकोमा यहाँहरु सबैप्रति आभारी छु । जापानमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले नेपाली गीत र संगीतलाई माया गरिदिनुहोला । केही वर्ष अगाडि एउटा साँगीतिक कार्यक्रममा म पनि जापान आउने अवसर प्रदान गर्ने तत्कालिन आयोजक संस्था म्याग्देली सञ्जाल जापानलाई यतिखेर स्मरण गर्न चाहान्छु र यस पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु ।****