काठमाडौं – सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा मोरङ महेशकुमार बुवाछोरा ठगिएका छन् । क्यानडामा रोजगारीको लोभमा परेर ६६ लाख बढी बुझाएका विराटनगर महानगरपालिका-११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी ठगिएका हुन् ।
बाबुछोराले क्यानडा जाने भन्दै सामाजिक सञ्जालमार्फत जोडिएको गिरोहलाई ६६ लाख ६७ हजार बुझाएका थिए । तर, ठगिएको थाहा पाएपछि उनीहरुले प्रहरीमा उजुरी गरेका थिए । मोरङ प्रहरीले ठगी गर्ने गिरोहका एक भारतीय नागरिकसहित ५ जनालाई पक्राउ गरेको छ ।
भारत जोगबनीका २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ का २२ वर्षीय रोहितकुमार पासवान, ३० वर्षीय बुद्धनारायण मलाह, पथरीशनिश्चरे नगरपालिका-५ का २५ वर्षीय वोधराज राजवंशी र विराटनगर महानगरपालिका-८ का २३ वर्षीय करण भनिने अमित राय पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।
यो समूहले भिसा लाग्यो भन्दै विभिन्न व्यक्तिहरूको बैंक खातामा पैसा पठाउन लगाएर ठगी गरेको देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेको गिरोहले वाट्सएप, टेलिग्राम, भाइबरसमेतका सामाजिक सञ्जालमा विज्ञापन गरेर क्यानडा, युरोप, अमेरिका, कुवेत, दुबईलगायत देश पठाउने भन्दै रकम असुलेर सम्पर्कविहीन हुने गरेको पाइएको छ ।