जापानमा नेपालीहरु आउने क्रम बढ्दो छ । दुईलाखभन्दा बढिको संख्यामा नेपालीहरु रहेको जापानमा अवसरै अवसर मात्रै छैनन् चुनौती पनि उत्तिकै छन् भन्ने तथ्यलाई बुझ्न र बुझाउन नसक्दा जापानमा नेपालीहरु विचल्लीमा पर्ने गरेको पाईन्छ । त्यसपछि एकले अर्कोलाई दोषारोपण गरेर आफु पानीमाथिको ओभानो हुन खोजेको र सबै अरुका कारणले आफु समस्यामा पर्नुपरेको जस्ता भाष्य सिर्जना गरिएको पाईन्छ । वैदेशिक यात्रा तय गर्नुअघि गन्तब्य मुलुकको बारेमा आधारभुत जानकारी हुनु स्वयमको पहिलो कत्र्तब्य हो । यसैगरी त्यसबारेमा सम्बन्धित सरोकारवला निकायहरुले पूर्व तैयारीका लागि अभिमुखीकरण तालीमको ब्यवस्था गरी कलिला किशोर–किशोरीहरुलाई समस्यासंग जुध्न सक्ने मनोबल उच्च बनाएर पठाउने हो भने धेरै हदसम्म उनीहरु विदेशमा त्यति हतोत्साहित हुनुपर्ने थिएन जति अहिले भईरहेका छन् । भाषा पढ्न आउने विद्यार्थीहरु हुन् या सिधै रोजगारीमा आउने नेपाली हुन् प्रायःजसो उनीहरु जापान आएको भोलिपल्टैबाट एकपछि अर्को समस्यामा पर्ने गरेको र जापानबारे पूरै अनभिज्ञता हुने गरेको पाईएको छ । उनीहरुलाई जापान पठाउने स्कुल, कलेज वा कन्सल्ट्यान्सीहरुले जापानमा दैनिक जीवन यापनका क्रममा ध्यान दिनुपर्ने महत्वपूर्ण विषयका साथै जापानी भाषाको महत्व बारे राम्रोसंग बुझाउन नसक्दा स–साना समस्याको पनि सामना गर्न नसक्ने, निर्णय क्षमताको अभाव हुने, अपरिपक्व र अप्रिय निर्णय गर्ने गरेको पाईन्छ । वैदेशिक रोजगारीको गन्तब्य मुलुककारुपमा नेपालीहरुको रोजाईमा जापान परेता पनि यहाँको जापानी भाषाको उच्च महत्व बारे बुझ्न र बुझाउन नसक्नु सबैभन्दा ठूलो कमजोरी हो ।
उसो त प्रतिस्पर्धात्मक जापानको श्रमबजारमा अन्य मुलुकका नागरिकको तुलनामा भाषाज्ञान, सीप, क्षमता, दक्षता र अनुभवको हिसाबले हामी नेपाली अलि कमजोर नै मानिन्छौं । त्यसमाथि थप जान्ने, बुझ्ने, सिक्ने र अध्ययनशील भई आफुलाई अपग्रेड गर्ने मामिलामा हाम्रो ध्यान पटक्कै छैन । फेसबुक, टिकटक चलाएर अनाहकमा घन्टौ समय खेर फाल्न हामीलाई कुनै प्रवाह छैन तर आफुलाई दिनदिनै काम लाग्ने सिकेपछि जीवनभरिलाई हुने जस्ता महत्वपूर्ण बिषयमा हामी ध्यानै दिदैंनौ अनि हामीले दुख नपाएर कसले पाउने ? सोही कारण जापानको श्रमबजारमा उपलब्ध कतिपय राम्रा–राम्रा रोजगारीका अवसर नेपालीहरुका लागि लंकाको सुन जस्तै साबित भएको छ ।
जापानमा नेपालीहरु थपिने क्रमले तीब्रता पाईरहेको छ । धेरैजसो सीप सिकेर, भाषा जानेर, जापान बुझेर भन्दा नितान्त आलाकाँचा र जापानबारे पटक्कै जानकारी नभएकाहरु एकैचोटी नारिता विमानस्थलमा ओर्लन आईपुग्छन् । त्यसपछि उनीहरुको तनावका दिन सुरु हुन्छन्, कारण उनीहरुमा पूर्वतैयारी केहि पनि हुँदैन । यी र यस्तै कमजोरीको फाइदा उठाई कतिपय गलत नियतका मानिसहरुले उनीहरुलाई दुख दिने गरेको घटनाहरु पनि बाक्लिन थालेका छन् । त्यसो भएको हुनाले जापान आउनुपूर्व हरेक नेपालीले जापानी भाषा सम्बन्धि आधारभुत ज्ञान र जापानको बारेमा मोटामोटी जानकारी हुनु अति जरुरी छ, यस बारेमा नेपालमा व्यापक जनचेतना फैलाउन आवश्यक छ, यसतर्फ राज्य तथा सरोकारवला निकायहरुको बेलैमा ध्यान जानुपर्दछ ।
यतिबेला जापानमा विद्यार्थी मात्रै नभएर रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने कुकदाजुभाइ र ब्याचलर गरी सिधै वर्किङमा आउनेहरुको लर्को छ । यहाँ आईसकेपछि कहाँ बस्ने, के खाने, के काम गर्ने, समस्या पर्दा कोसंग सम्पर्क राख्ने, अगाडिको भिसा कसले जिम्मा लिने जस्ता थरिथरिका समस्याहरुले आएको भोलिपल्टैबाट उनीहरुलाई एकैचोटी पिरोल्न थाल्छ भने यता आउँदा लागेको उताको ऋणको भारीले थिच्न सुरु गर्छ । त्यसो भएको हुनाले जापान भन्दा बित्तिक्कै विचारै नगरी अन्धाधुन्ध जोखिम मोल्नुहुँदैन । त्यसोभएको हुनाले नवप्रवेशी नेपालीहरुका लागि जापान आउँदाबितिक्कै अभिमुखीकरण सेमिनार आवश्यक छ । जापानमा नयाँ जीवन कसरी सुरु गर्ने, अब कसरी अगाडि बढ्ने, कुन समस्याका लागि कहाँ सम्पर्क गर्ने, जापानको जीवनशैली सहज बनाउन के गर्ने, रोजगारी, सार्बजनिक यातायात, बैंकिङ सेवा, अस्पताल, स्थानीय निकायबाट पाईने सेवा सुविधा, बिमा, पेन्सन, प्राकृतिक प्रकोप, फोहरमैला ब्यवस्थापन, किनमेल, जापानी समुदायसंगको घुलमिल जस्ता विषयमा उनीहरुलाई राम्रोसंग बुझाउन सक्ने हो भने धेरै हदसम्म समस्याको न्युनिकरण हुँदै जाने अपेक्षा गर्न सकिन्छ । त्यसैले यी र यस्ता विषयमा जापानका सयौं संघसंस्थाहरुको रचनात्मक तथा सिर्जनात्मक पहलकदमी अपेक्षित छ ।
तपाईको प्रतिक्रिया