काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशसँगै नेपालमा अमेरिकी अनुदानमा सञ्चालित सबै कार्यक्रमहरू ९० दिनका लागि स्थगित भएका छन् । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी)ले नेपाल सरकारका सम्बन्धित निकायहरू गैरसरकारी संस्था (एनजीओ) र गैरनाफामूलक कम्पनीहरूलाई पत्राचार गर्दै यो निर्णयबारे जानकारी गराएको छ ।
यूएसएआईडीले अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्मालाई सम्बोधन गर्दै शनिबार पत्र पठाएको थियो । पत्रमा अमेरिकी अनुदानअन्तर्गत सञ्चालित स्वास्थ्य, शिक्षा, कृषि, र समावेशी नीतिका कार्यक्रमहरू तत्कालका लागि रोकिएको उल्लेख छ । एसएआईडीको पाँचवर्षे रणनीतिक साझेदारीअन्तर्गत नेपालले ७९ अर्ब ७१ करोड रुपैयाँ बराबरको अनुदान पाउने सम्झौता गरेको थियो । हालका लागि यी कार्यक्रमहरू रोकिए पनि भविष्यमा अनुदान निरन्तरता पाउने सम्भावना रहेको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले वैदेशिक अनुदान पुनर्मूल्यांकनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि यो कदम उठाइएको हो । अमेरिकी विदेश मन्त्रालयका अनुसार यो ९० दिने स्थगन अवधिमा अनुदानको प्रभावकारिताको समीक्षा गरिनेछ । एमसीसी नेपाल कार्यक्रमअन्तर्गत हालै कार्यान्वयनमा आएका परियोजनाहरूमा यो निर्णयको प्रभाव नपर्ने सम्भावना छ ।
यूएसएआईडीले एनजीओ र गैरनाफामूलक संस्थाहरूमार्फत परिचालित कार्यक्रमहरूलाई पत्र पठाएर ९० दिनभित्र कुनै पनि खर्च नगर्न र नयाँ सम्झौतामा हस्ताक्षर नगर्न निर्देशन दिएको छ । यद्यपि, कर्मचारीहरूको तलबसम्बन्धी विषयमा भने कुनै जानकारी दिइएको छैन ।
यूएसएआईडीको सहयोगमा सञ्चालित ३ सयभन्दा बढी संघसंस्थाका कार्यक्रमहरू तत्काल प्रभावित हुने एनजीओ फेडरेसन अफ नेपालले जनाएको छ । फेडरेसनका अध्यक्ष रामप्रसाद सुवेदीले कार्यक्रमहरू स्थगित भए पनि स्थायी रूपमा रद्द हुने सम्भावना कम रहेको विश्वास व्यक्त गरेका छन् ।
अमेरिकी निर्णयले नेपाल मात्र होइन, अन्य विकासोन्मुख देशहरूको अनुदानमा पनि असर पर्ने देखिएको छ । इजरायल र इजिप्टको सैन्य सहायता तथा आपत्कालीन खाद्य सहयोगलाई भने रोक लगाइएको छैन । गाजापट्टी र सुडानजस्ता क्षेत्रका मानवीय संकटले यो निर्णयबाट थप चुनौती सामना गर्नुपर्ने देखिन्छ ।