काठमाडौं – डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरेपछि विभिन्न आदेशहरूमा हस्ताक्षर गरेका छन् । उनले विशेषगरी सीमा सुरक्षा, आप्रवासी नीति, जलवायु परिवर्तनसम्बन्धी लगायत विभिन्न आदेशमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्पले चार वर्षअघि संसद भवनमा आक्रमण गरेको अभियोगमा सजाय काटिरहेकाहरूलाई आममाफी दिएका छन् । सोमबार राष्ट्रपतिको शपथ लिएपछि २०२१ जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणको घटनामा सजाय काटिरहेका १५ सय अभियुक्तहरूलाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले अमेरिका र मेक्सिकोको सिमानमा राष्ट्रिय आपतकाल घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । यस्तो आदेशले अब त्यहाँ सेना पठाउन अनुमति दिने भनिएको छ । त्यस्तै उनले अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् । यो आदेश कार्यान्वयनमा भने अदालती लडाईं सुरू हुनसक्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।
नयाँ प्रशासनले सीबीपी वान नामक एप रद्द गरेपछि केही घण्टाअघि नै हजारौँ विदेशीहरूका आप्रवासनसम्बन्धी कामका लागि सरकारी भेटका लागि आरक्षित समयहरू रद्द भएका थिए । उक्त एप सीमा प्रवेश बिन्दुमा उपस्थितिको समय लिनका लागि प्रयोग गर्ने गरिन्थ्यो ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.