टोकियो – क्योटो सिटी सरकारले होटल तथा अन्य आवासहरूमा बसोबास गर्ने व्यक्तिहरूका लागि लाग्ने कर बढाउने भएको छ । सरकारले मंगलबार मार्च २०२६ देखि आवास कर बढाउने घोषणा गरेको हो ।
नयाँ दर १० हजार येन प्रतिव्यक्ति प्रतिराति अधिकतम हुनेछ । हालको २ सय येनदेखि १ हजार येनको तुलनामा नयाँ दर २ सय येनदेखि १० हजार येनसम्म हुने बताइएको छ । यो दर स्थानीय निकायहरूले लागू गर्ने निश्चित कर दरमध्ये उच्चतम हो ।
क्योटोले २०१८ मा तीन तहको आवास कर प्रणाली लागू गरेको थियो । यसअनुसार २० हजार येनभन्दा कम मूल्यका कोठाहरूका लागि २ सय येन र ५० हजार येन वा सोभन्दा बढी मूल्यका कोठाहरूका लागि १ हजार येन कर लाग्थ्यो ।
योजनाबद्ध प्रणालीअनुसार नयाँ दर पाँच तहमा विभाजन गरिनेछ । ६ हजार येनभन्दा कम मूल्यका कोठाहरूका लागि प्रतिव्यक्ति २०० येन कर लाग्नेछ । ६ हजार येनदेखि २० हजार येनसम्मका कोठाहरूका लागि ४ सय येन, २० हजार येनदेखि ५० हजार येनसम्मका कोठाहरूका लागि १ हजार येन, र ५० हजार येनदेखि १ लाख येनसम्मका कोठाहरूका लागि ४ हजार येन कर लाग्नेछ । १ लाख येनभन्दा माथि पर्ने कोठाहरूका लागि अधिकतम कर दर १० हजार येन हुनेछ ।
यस कर वृद्धिबाट सन् २०२३ को आर्थिक वर्षमा ५ दशमलव २ अर्ब येनभन्दा करिब १२ दशमलव ६ अर्ब येन कर राजस्व वृद्धि हुने अनुमान गरिएको छ । सहरले आम्दानी पर्यटन क्षेत्रलाई सहयोग गर्न र पर्यटक तथा बासिन्दाहरूको आपतकालीन तयारी सुधार्न प्रयोग गर्ने बताएको छ ।