समाचार सुन्नुहोस :
काठमाडौँ – विश्व चर्चित कथावाचिका देवी प्रतिभा नेपाल भ्रमणमा आएकी छिन्। माघ १ गतेदेखि सुरु हुने देवघाट महामहोत्सवमा सहभागी हुन भारतबाट आइपुगेकी उनले कथा वाचनमार्फत श्रद्धालुहरूलाई आध्यात्मिक सन्देश दिनेछन्। नारायण भण्डारीका अनुसार, उनी १५ सदस्यीय समूहसहित नेपाल आइपुगेकी हुन्।
सोमबार दिउँसो ३ बजे भरतपुरको ठिमुरा रिसोर्टमा देवी प्रतिभाले प्रेस मिटको आयोजना गर्ने जानकारी दिइएको छ। ‘प्यार से बोलो ना’ अभिव्यक्तिले चर्चामा आएकी २३ वर्षीया प्रतिभाले १० दिनसम्म नेपालमा रहनेछिन्। यसअघि उनले पशुपतिनाथ मन्दिरमा १५ दिनसम्म कथा वाचन गर्दै विश्वभरका नेपालीहरूको मन जितिसकेकी छिन्।
महामहोत्सवका क्रममा देवी प्रतिभासहित ईश्वरकृष्ण महाराजजी, ओमप्रकाश गुरु, यशोदा कौडिन्य, र अनुराधा पाण्डेयले पनि कथावाचन गर्ने कार्यक्रम रहेको छ। माघ महामहोत्सवको मुख्य आकर्षणमा मकर स्नान, ३३ करोड दीप प्रज्वलन, र विश्वकै नमुना मन्दिर देवघाट दिव्य धामको शिलान्यास छन्। सो अवसरमा संकलित सहयोग रकम मातापिता सेवा आश्रम र देवघाट दिव्य धाम निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ।