समाचार सुन्नुहोस :
काठमाडौँ – कोलम्बियाको एन्टिओकिया क्षेत्रमा उराओ नजिकै भएको विमान दुर्घटनामा १० जनाको ज्यान गएको छ। दुर्घटनाग्रस्त विमानमा तीन बालबालिकासहित १० जना सवार थिए र कसैलाई पनि बचाउन सकिएको छैन।
कोलम्बियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार, सेस्ना विमान जनवरी ८ मा जुराडोबाट मेडेलिनतर्फ उडान भरेको थियो। साँझ ५:३० बजे विमानसँगको सम्पर्क टुटेपछि खोजी कार्य सुरु गरिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार, विमानमा रहेका पाँच जना एउटै परिवारका सदस्य थिए।
जनवरी १० मा एन्टिओकिया राज्यको जोखिम व्यवस्थापन विभागले जंगलमा विमानको भग्नावशेष देखिएको हवाई फुटेज सार्वजनिक गरेको छ। प्यासिफिका ट्राभलको यो विमान बुधबार सम्पर्कविहीन भएको थियो र शुक्रबार मात्रै फेला पारिएको हो। विमानमा दुई जना चालक दलका सदस्य र आठ जना यात्रु सवार थिए। उक्त घटनास्थलमा ३७ जनाको उद्धार टोली परिचालन गरिएको छ। तर, खराब मौसमका कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भएको छ। हेलिकप्टर प्रयोग गर्न नसकिने भएकाले उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको छ।