काठमाडौं – काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
शनिबार दिउँसो उनी ओखलढुंगाकै सुनकोसी गाउँपालिका-३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए । युवतीको मृत्युको कारण अझै खुलेको छैन ।
देवबहादुरसँगै पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी २२ वर्षीया सुस्मिताको शव गएको बुधबार फेला परेको थियो । सुस्मिताको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले निष्कर्ष निकालेको छ । सँगै होटेलमा बसेका देवबहादुर त्यस दिनयता फरार थिए ।
देवबहादुर र सुस्मिता पुस १६ गते (मंगलबार) उक्त होटोलमा बस्न पुगेको खुलेको छ । सुस्मिताको शरीरको बाहिरी भागमा कुनै चोटपटक छैन । प्रहरीले उनको शव पोस्टमार्टमका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । तर, पोस्टमार्टम रिपोर्ट नआउँदा मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
देवबहादुर होटेलको कोठाको ढोकाबाहिर चाबी लगाएर भागेका थिए । गएको मंसिर ३० गते मात्र उनी जापानबाट काठमाडौं आएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । सुस्मिता समेत जापान जाने तयारीमा थिइन् ।