काठमाडौँ – ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी हाल अस्पताल भर्ना भएका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार, जोशीलाई बिहीबार साँझ गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको हो।
पहिले स्वास्थ्य जाँचका लागि अस्पताल लगिएका जोशीलाई डाक्टरले तत्काल भर्ना गर्न सुझाव दिएपछि उपचारको प्रक्रिया अघि बढाइएको हो।जोशीलाई ६ असोजमा काठमाडौंको शंखमुल क्षेत्रबाट पक्राउ गरिएको थियो। त्यसयता उनी प्रहरी हिरासतमा रहेका छन्। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित कानूनी मुद्दाहरूमा अनुसन्धान भइरहेको छ।
जोशीमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, सहारा चितवन, वीरगञ्जको सोनोपाइला सहकारी र काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी प्रकरणमा संलग्नताको आरोप छ।