जिन्दगीमा थुप्रै दिनहरु आइरहे, गइरहे कतिपय रमाइला रहे त कति नरमाईला । कतिपय उत्साहमा बिते त कति त्यसै त्यसै गए, यसैगरी बाँकी दिनहरु पनि जाने नै होलान् तर एउटा परिवेशमा जन्मे हुर्केर अर्को देख्दै नदेखेको परिवेशमा आईपुग्दा अनेकौ कुराहरुमा कौतुहलता, अनभिज्ञता अवश्य भेटिन्छन् यसै सन्दर्भमा जापानमा एक दशक पहिले झर्दै गर्दाको अनुभव स्मरण गर्न मन लाग्यो ।
हरेक कुराको शुरुवात हुँदै गर्दा त्यस पछाडि केहि न केहि दृष्यहरू अवश्य हुन्छन् यी कुरा बिनाको बुझाई अपूरो बन्छ त्यसैले सामान्य केहि कुरा जोड्नैपर्छ । धेरैले भन्ने गर्छन् कि बिदेशिनुको कारण नै बेरोजगारी समस्या हो तर मलाई त्यस्तो कहिल्यै लागेन किन कि, कुनै न कुनै रोजगारीमा रहेरै बिदेशीनेहरु तथा बिदेशिन खोज्नेहरुको संख्या कम्ति छँदै छैन । जब हाम्रा संस्कार चालचलन, सँस्कृति, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत कुराहरु त्यहाँका रोजगारीले थाम्न सक्दैन भन्ने अवस्था आइलाग्छ तब रोजगारी खोज्नु र गर्नुमा कुनै आकर्षण नै रहँदैन त्यसैले यो बेरोजगारीको कारण भन्दा पनि बेथितिका कारण भन्न सकिन्छ । यसैको शिकारमा म परेकै हो । पन्ध्र बर्ष लगाएर बाउका पैसामा पढेर बनाएका सर्टीफिकेटको पोको आमालाई सुम्पेर, दुईचार दिनको तालिममा जुटाएको सर्टिफिकेट र साउका पैसाको बाटो खर्चको पोको बोकेर हिड्दै गर्दा आफैमा अध्याँरो सुरुङमा हाम फाल्नु जस्तै त थियो नै त्यसमाथि बिल्कुल फरक दुनियाँमा ।
कुनै आफन्तलाई छोड्न या लिन जाँदा एअरपोर्टको प्रस्थान गेट बाहिरसम्म पुगेको अवस्था रहे पनि त्यसभित्रका सबै कुराहरु बिल्कुल नयाँ नै थिए । एकातिर भारी मनलाई अर्कोतिर उत्सुक पार्दै जहाज छेउमै पुग्दैगर्दा अझ उत्सुक बन्यो । हुन त जहाज हेरेरै हुर्केको मान्छेलाई नौलो नलाग्नुपर्ने हो तर परिस्थिति फरक थियो । घर माथिको आकाशमा कहिलेकाँही उड्ने जहाजको आवाजले त्यतातिर आकर्षित गथ्र्यो र खाना खाँदै गर्दा समेत थालै टिपेर जुठै हात बाहिर निस्की डाँडाले नछेकुञ्जेल धेरै जहाज हेरियो त कति बादल भित्र खोज्दा–खोज्दै आवाज शून्य भए । पहिलो पटक गाडी देख्दा उमेरले पहिलो दशक काटी सकेको थियो भने आफ्नै भूगोलमा देख्न पाउन अर्को दशक कुर्नुपर्याे यस्तो स्थितिबाट हुर्केर अढाई दशकको शरिर लिएर पर पुग्नु जो थियो ।
यात्रा काठमाडौं हङकङ हुँदै टोकियो थियो, तर परिचित साथी कोहि थिएनन् अपरिचितसंग नै सहयात्री बनेर यात्रा गर्नुथियो । अरुकै फलो गर्दै जानुथियो, संगैको सिटमा एकजना राई दिदी हुनुहुन्थ्यो, उहाँले पहिलो यात्रा बुझेर नै धेरै कुरा बुझाइदिनु भयो । हङकङ आइजाइ गरिरहने उहाँले वाइन लिनुभयो, पिउने भए लिनुहोस् भाइ भन्दै हुनुहुन्थ्यो तर कहिलेकाँही उरेन्ठेउलो बनेर २, ४ चुस्की बियर लिएको अनुभव भए पनि अरु थाहा थिएन त्यसैले हात पछि नै रहे । त्रिभुवन विमानस्थल दुनियाँकै भब्य लाग्ने हङकङ झर्दै गर्दा सामान्य शाखा एअरपोर्ट जस्तो अनुभूत गरे । दिदीको शुभयात्रा लिंदै अब टोकियो जानेको फलो गर्नु नै मेरो यात्रा थियो, अपरिचित भए पनि नेपाली दाजुभाइ धेरै नै हुनुहुन्थ्यो । मध्ये दिउसो संगसंगै जब जब जहाजले समुद्र छिचोलेर जमिन पच्छाउँदै थियो मन ढकढक भइरहेथ्यो । नारिता झरिसकेपछि अरुकै पछि–पछि लाग्दै इम्रिगेशनको प्रक्रिया सकाई सामान रिसिभ गर्ने ठाउँसम्म आइपुदा धेरै मान्छे निस्कीसकेका थिए । उताबाट सुत्ने बेलामा परेको फलाइट समय र अबधिले गर्दा ३५, ३६ घण्टा निद्राविहीन यात्रामा रहेर आइपुग्दा शरीरले थकित महशुस गरिरहेको थियो । आफ्नो ब्यागेज समाउदै गर्दा पहिलेभन्दा भारी भए जस्तै लागेको थियो । जब भन्सार फाराम भरेर कर्मचारीलाई बुझाएँ तब उनले अंग्रेजीमा लेखिएको चित्र सहितको किताब देखाउँदै यो छ की छैन भन्दै हात हतियार, लागु औषध, हरिया तरकारीजन्य बस्तुहरु देखाउँदै सोधपुछ गर्दै थिए । यि कुराबाट टाढै भएकोले सहजै जवाफ छैन नै थियो यतिले खोइ किन बिश्वास नलागेर पुरै ब्यागेज नै खानतलासमा पर्यो । भाइबहिनीले टम्म पारेर प्याक गरिदिएको ब्याग पुनः बन्द गर्न साह्रै गाह्रो परेको देख्दा सरी भन्दै बन्द गर्न भने राम्रै सहयोग मिल्यो । बल्ल तल्ल बाहिर त निस्कियो, अब यहाँबाट अर्को अनजान यात्रा गर्नुथियो नारितादेखि इकेबुकुरोसम्मको, एअरपोर्टमा लिन कोही आउने छैन भन्ने उतै नै थाहा थियो त्यसैले खुद्रा नमिलेर पुरै बोक्न परेको मानको नोट गोजीमा थियो त्यसका लागि आठ हजार नेपालीमा परेको थियो उ बेला ।
सैद्धान्तिक रुपमा कतिपय कुरा थाहा भए पनि ब्यबहारिक रुपमा जिरो हुँदा त्यो सिद्धान्तले समेत फेल नै खाने महसुस भयो । न त त्यहाँ कालिमाटी–रत्नपार्क भनेजस्तो भन्ने थियो कोही, न त पोखरा–बागलुङ भन्ने जस्तो नै, थियो त ठूला ठूला मनिटरमा बेला बेला अंग्रेजीमा देखिने रेलका गन्तब्य र समय तालिका । प्राक्टिकल्ली जिरो हुँदा यसबाट पार लगाउन सक्ने हिम्मत आएन त्यसैले आफ्नो भाइलाई लिन जानु भएको एक जना दाइसंग सहयोगको अनुरोध गरे । उहाँको गन्तव्यसंग उल्टो पर्ने रहेछ त्यसैले त्यहाँबाट टिकट लिएर जानु भन्दै टिकटको भेन्डिङ मेशिन देखाउनुभयो । आफू त नेपालमा हुँदा कहिलेकाँही चेक साटफेर गरेको भए पनि एटिएम मेशिन समेत प्रयोग नगरेको मान्छे थिएँ, त्यसैले के हो के हो नै लाग्यो । यत्तिकैमा अर्को दाइ पनि आफन्त लिन आउनुभएको रहेछ उहाँलाई त्यो दाइले गन्तव्य सोधेर उहाँसंगै जानु एकै ठाउँ रैहेछ भन्नुभयो । मलाइ ढुंगा खोज्दा देउता मिले झै भयो । उहाँ दाइको आफन्त निस्कन बेर लाग्यो उहाँ यताउता खोज्दै हुनुहुन्थ्यो म पछि लाग्दै थिए । १०, १५ किलो लत्ता कपडा लिएर हिड्न मिल्ने लगेजमा ३०, ३२ किलो सामान कोचेर हिड्नुपर्दा त्यो त्यसै हुर्मत लिए झै भएकै थियो त्यसमाथि दृष्टिबिहिनका सहजताका निम्ति बिछ्याइएका (पछि थाहा पाएको) ब्लकमा गुडाउँदा ठेस लागेर लगेजका पांग्रा खुस्किन आँटीसकेका थिए । पहिले नै धेरैजना आफन्त पुगिसकेको ठाउँ भएकोले हुन्न, सक्दिन भन्न नजान्ने म अनि यत्रो पार्सलले गाह्रो पार्ला भनेर सोच्न नजान्ने आफन्त र साथीभाइ बीचको तालमेल राम्रै मिलेको थियो । पहिलो पटक आउँदै गरेको हुँदा आफ्नो सामान आठ दश किलो लत्ता कपडा बाहेक खासै केहि थिएन तर घिउ देखि तेलसम्म, चामलदेखि लसुनसम्म बोकाइमा परिएको रहेछ जसले गर्दा ह्याण्ड ब्यागभित्र बाहिर आफ्नै भए पनि अर्को ३० किलो बोकेको लगेजको बाहिरी र भित्रको सकुशल हस्तान्तरण गर्नुपर्ने दायित्व मात्र आफ्नो थियो । जब उहाँको आफन्त भेटिनु भयो तब हतार हतार रेलको टिकट लिएर चढ्ने ठाउँतिर लाग्यौ । टिकट इन्ट्री गेटमा टिकट छिराएर राम्रोसंग राख्नु निस्कीदाँ चाहिन्छ भन्ने कुरा सुन्दै अघि बढियो, तल झर्ने स्कालेटरबाट तल झर्दै गर्दा बेला बेला अरुलाई सामानले नछुवाउन भन्नुहुन्थ्यो, भारी ब्यागले यताउता छोइनै हाल्थ्यो यो पनि हाम्रो संस्कारले गर्दा भएर पनि होला । तल पुग्ने बित्तिकै हतारिदै उहाँ एउटा ढोकाबाट छिर्नुभयो हामी पनि त्यसै गर्यौ लगत्तै ढोका बन्द भयो र चल्न थाल्यो ।
त्यो नै रेल रहेछ, जुन देख्न भन्दा पहिले चढिसकिएछ । झण्डै नछुटेको है, छुटेको भए टिकट खेर जाने रहेछ भन्दै जिज्ञासा प्रकट गर्दा हैन पछिल्लोमा नि चढ्न मिल्छ भन्नुभयो । त्यो नारितादेखि निप्पोरीसम्मको लोकल रेल रहेछ । जिन्दगीमा पहिलो रेल यात्रा हुँदैगर्दा नजर बेला बेला बाहिर पनि जान्थ्यो, जसबाट सहरको आभास हुने जस्तो दृष्य लागेन यी त टोकियोदेखि टाढैका स्टेशन रहेछन् र पो रहेछ । डिसेम्बरको अन्तिमतिरको समय हल्का बर्षा भइराखे’थ्यो चिसो सिरेटो चलिराखेको थियो, बीच बीचमा ढोका खुल्दा मुटुनै कमाउने चिसो भित्र पस्थ्यो । २, ४ मिनेटको अन्तरमा रेल रोकिन्थ्यो, हुलका हुल मान्छेहरु निस्कने र छिर्ने गर्थे, उनीहरुलाई देखेर मनमनै एउटै ग्रुपका होलान् भनेर अड्कल काट्थे । धेरै महिलाहरुका हातमा टुप्पी भएको छाता समाएको देख्दा मनमनै अनौठो लाग्यो जो नेपालमा जेन्स छाता भनेर महिलाहरुले बोक्दैनथे । जति जति रेल यता आउँदै थियो उति उति मान्छेको भिड लाग्न थाल्यो । साँझको समय भएर पनि रेलमा भिडभाड हुँदो रहेछ । रेल बदल्दा पनि हतारमा भएका मान्छेहरुको भिडभाडलाई छिचोल्दै ४०, ४५ किलोको समानले गर्दा धेरै नै मुश्किल हुन्थ्यो ।
जसोतसो इकेबुकुरो आइसकेपछि दाइको मोबाइलबाट गाउँकै काकालाई लिन बोलाएँ । अर्को दिनदेखि सँगै काम गर्नुथियो, बस्नु पनि संगै थियो । उहाँ आएपछि दाइसंग बिदा भए । स्टेशन देखि रुम पुग्न १५ मिनेट लाग्ने ठाउँ रहेछ । दुईचार मिनेट गुडाएपछि लगेजको पांग्रा खुस्कियो, अनि मैले लगेज काँधमा चढाए, काकाले झोला बोकिदिए । गफिदै हिड्दै गर्दा पनि धेरै कुरामा नजर गइरहन्थ्यो, साँझको समय थियो चारैतिर तिहारको समय जस्तो झिलीमिली लागिराथ्यो, चिल्ला सडकमा गुड्ने गाडिहरु सबै हाम्रा मन्त्री चढ्ने जस्तै लाग्थे । जब रुम छिर्न मुल सडक छोडेर सानो गल्लीमा घुस्यौ फेरी काठमाडौंकै गल्लीको याद आयो । ढोका खोलेर भित्र पस्दै गर्दा ठ्याकै हाम्रो गाउँघरतिर खेत बिराउन (बनाउन), घरगोठ बनाउन माथिल्लो भेगका दाजुभाइ आएर गोठको भारमा परालमाथि कम्बल ओछ्याइ होलसेलमा सुत्थे त्यही दृष्यको याद आयो । रातको साढे १२ तिर बिहानै आठ नौ बजे गएका अरु साथीभाइ कामबाट लखतरान भई फर्केको देख्दा र कुरा सुन्दा बिस घण्टा नि काम गर्छु भनेर उत्रेको मलाई मन चसक्क पार्यो नै ।
परिस्थिति अहिले धेरै नै फरक भए पनि पुरै फरक चाँहि छैन । अझै पनि कहिलेकाँही कुरा गर्दै जाँदा जापान किन आएको होस् ? कहिले फर्किन्छौं ? तिम्रो देशमा कति तलब हुन्छ भन्ने जापानीको प्रश्नले हिनताबोध गराउँछ भने जापान आइसकेपछिको उताको लालपूर्जा र यताको एज्युकेन सम्बन्धी अन्तरवार्ता लिन खोज्ने नेपाली दाजुभाइप्रति दिग्दारी लागि नै रहन्छ । माथि भने जस्तै जापान अध्याँरो सुरुङ नभए पनि उज्यालो सुरुङ चाहि हो जस्तो नै लाग्छ । छिर्के हान्नेलाई पनि राम्रै चलेकै छ, सिधा हिड्नेलाई पनि चलेकै छ, जे होस् शान देखाउने, मान हात नलागे पनि, इमानलाई खुट्टा लगादिएको छैन यसैमा खुशी छ । शुभदिन
(पाठकहरुको चाहनामा पुनः प्रकाशित)