समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं उपत्यकामा निरन्तर चिसो बढिरहेको छ। यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्। यद्यपि यहाँको मौसम भने सफा रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव परिरहेको छ। कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ। तराई र उपत्यकाका धेरै ठाउँमा हुस्सु लागेको छ भने केही क्षेत्रमा कुहिरो देखिएको छ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। त्यस्तै, राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य ठाउँमा सफा मौसम रहने अपेक्षा गरिएको छ।
तराई र उपत्यकाका क्षेत्रमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले यातायात, हवाई उड्डयन र दैनिक जनजीवनमा असर पर्न सक्ने चेतावनी विभागले दिएको छ। यस कारण, यस अवस्थालाई मध्यनजर गर्दै आफ्ना गतिविधिहरू सावधानीपूर्वक सञ्चालन गर्न विभागले अनुरोध गरेको छ।