समाचार सुन्नुहोस :
काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सेवासम्बन्धी समस्या समाधान गर्न नयाँ “हेल्लो स्वास्थ्य” सेवा सुरु गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न र गुनासाहरू सम्बोधन गर्न यो सेवा सुरु गरिएको बताए। मन्त्रीस्तरीय निर्णयअनुसार स्थापना गरिएको यस गुनासो एकाइमार्फत नागरिकले स्वास्थ्य सेवा सम्बन्धी समस्या विभिन्न माध्यमबाट जानकारी गराउन सक्नेछन्।
गुनासो राख्न नागरिकले टेलिफोन नम्बर १११५ मा फोन गर्न सक्नेछन् भने भाइबर र ह्वाट्सएप नम्बर ९८५१३३०५९२ मा सन्देश पठाउन मिल्नेछ। यसैगरी, [email protected] इमेल ठेगाना तथा हुलाकमार्फत पनि गुनासो पठाउन सकिने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार, एकाइको संयोजकत्व ट्रपिकल मेडिसिन विशेषज्ञ डा. अनुप बास्तोलाले गरेका छन्। समितिमा सूचना अधिकारी डा. भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी र शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य रहेका छन्।
यसअघि टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको हटलाइन सेवा अब थप प्रभावकारी बनाउँदै यस सेवामा अन्य आधुनिक माध्यमहरू समेत समावेश गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।