काठमाडौं – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल उडान गर्न नसकिने भन्दै तीनवटा वायुसेवा कम्पनीले उडान स्थगितको पत्र पठाएका छन् । जजीरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले मौसमजन्य समस्या देखाउँदै अस्थायी रूपमा उडान स्थगनको जानकारी दिएका हुन् ।
पछिल्ला दिनमा बाक्लो हुस्सुका कारण भैरहवामा विमान अवतरण र उडान प्रभावित बनेको छ । अपराह्नसम्म उडान सञ्चालन गर्न कठिन भएपछि अन्तर्राष्ट्रिय उडानहरू काठमाडौँतर्फ डाइर्भट भइरहेका छन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हाल विमानस्थलमा १,००० देखि १,२०० मिटरसम्मको भिजिबिलिटी छ, जुन उडानका लागि पर्याप्त छैन । एटीआर लगायतका ठूला विमानका लागि कम्तिमा १,८०० मिटरको भिजिबिलिटी आवश्यक पर्छ ।
भैरहवामा आरएनपीएआर एप्रोच (रिक्वायर्ड नेभिगेसन पर्फरमेन्स अथोराइजेसन) प्रणाली नहुँदा यो समस्या झन् पेचिलो बनेको छ । यस प्रणाली भएका विमानस्थलमा ८०० मिटरको भिजिबिलिटीमा पनि विमान अवतरण सम्भव हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणले आउँदो माघ १० गतेभित्र आरएनपीएआर एप्रोच प्रणाली जडान गर्ने योजना सार्वजनिक गरेको छ ।
अहिलेसम्म कुनै एयरलाइन्सले औपचारिक रूपमा उडान स्थगनको अनुमति नलिएको र यस विषयमा छलफल भइरहेको प्राधिकरणले जनाएको छ ।