समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइनी नागरिकमाथि इजरायलले गरेको नरसंहारको कडा विरोध जनाएका छन्।
सोमबार काठमाडौंको रत्नपार्कमा आयोजित कार्यक्रममार्फत देशव्यापी हस्ताक्षर अभियानको उद्घाटन गर्दै प्रचण्डले प्यालेस्टाइनमाथि भइरहेको ज्यादतीप्रति विश्वभर विरोध भइरहे पनि इजरायलले अटेरपूर्ण रवैया अपनाएको बताए।
उनले गाजामा भएको पछिल्लो आक्रमण र नरसंहारप्रति गहिरो असहमति जनाउँदै संयुक्त राष्ट्रसंघले यसअघि पारित गरेका प्रस्तावहरूलाई इजरायलले बेवास्ता गर्दै आक्रमणलाई निरन्तरता दिएको उल्लेख गरे।
प्रचण्डले इजरायलको अमानवीय आचरण र हिंसाको विरोधमा सबैले एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिए। उनले यस विषयमा नेपालले पनि अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो धारणा प्रस्ट राख्नुपर्ने आवश्यकता औंल्याए।