समाचार सुन्नुहोस :
काठमाडौँ – जापानको एक कम्पनीले ‘मान्छे धुने मसिन’ (मिराई निङ्गेन सेन्टाकुकी) को प्रोटोटाइप सार्वजनिक गरेको छ। ओसाका सहरस्थित ‘साइन्स कम्पनी’ले यो नयाँ उपकरणको ७० प्रतिशत निर्माण कार्य पूरा भइसकेको र यसलाई अत्याधुनिक प्रविधिसहित तयार पारिएको जनाएको छ।
कम्पनीका अध्यक्ष यासुआकी आयोयामाका अनुसार, यस मसिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उच्च गतिको पानीको फोहोराको प्रयोग गरिएको छ। मसिनले १५ मिनेटभित्र शरीर सफा गरेर सुकाउने प्रक्रिया पूरा गर्छ। यसले साना हावाका फोका र पानीको फोहोराको माध्यमबाट प्रयोगकर्तालाई शारीरिक रूपमा सफा र तरोताजा अनुभव गराउँछ।
साइन्स कम्पनीका इन्जिनियरका अनुसार, यस मसिनले प्रयोगकर्ताको शरीर विश्लेषण गर्दै उनीहरूको भावनात्मक अवस्था पनि मूल्याङ्कन गर्न सक्छ। एआईको मद्दतले प्रयोगकर्तालाई शान्त र सुखद अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ। यो उपकरण सन् २०२५ मा ओसाकामा आयोजना हुने कान्साई एक्स्पोमा एक हजार आगन्तुकले प्रयोग गर्ने अवसर पाउनेछन्।
कम्पनीले यो नयाँ मसिनको डिजाइन १९७० को दशकमा स्यानो इलेक्ट्रिक कम्पनी (हालको पानासोनिक) ले बनाएको उपकरणबाट प्रेरणा लिएको बताएको छ। सामाजिक सञ्जालमा यो उपकरणको व्यापक चर्चा भइरहेको छ र धेरैले यसलाई उद्योगका परिष्कृत सफाइ उपकरणसँग तुलना गरेका छन्।