समाचार सुन्नुहोस :
काठमाडौँ – गृह जिल्ला झापामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि व्यस्त हुने भएका छन्। कोशी प्रदेश सभा सदस्य तथा एमाले झापाका नेता होम बहादुर थापाका अनुसार प्रधानमन्त्री ओली आज विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै अत्यन्तै व्यस्त रहनेछन्।
बिहान १० बजे उनले दमक–२ स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नेछन्। मध्यान्ह १२ बजे गौरादह नगरपालिकाको महारानी झोडा क्षेत्रमा जग्गाधनिपुर्जा वितरण कार्यक्रममा सहभागी हुने योजना छ। त्यसपछि, दिउँसो साढे १ बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलामा सम्बोधन गर्नेछन्। दिउँसो ३ बजे उनले बिर्तामोडको सिटी सेन्टरमा एमाले झापा जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओली हिजो बिहान झापा पुगेका थिए। झापा पुग्नासाथ उनले मानवसेवा आश्रमको भवन उद्घाटन र मानवीय स्मारकको शिलान्यास गरे। त्यसपछि हिजो दिउँसो दमक नगरपालिका–३ मा शहरी विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा दमक बिजनेज टावरको उद्घाटन गरे। असार ३० मा पुनः प्रधानमन्त्री नियुक्त भएपछि ओली पहिलो पटक आफ्नो गृह जिल्ला झापा पुगेका हुन्।