समाचार सुन्नुहोस :
काठमाडौँ – हाल कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिएको छ भने अन्य स्थानहरूको मौसम प्रायः सफा रहेको छ। पश्चिमी वायुले प्रभाव पारेका कारण पश्चिमी क्षेत्रका केही स्थानमा रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसोको समयमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ। गण्डकी र बागमती प्रदेशका केही स्थान तथा कोशी प्रदेशका पहाडी भागहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। आज रातिको मौसममा कर्णाली, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा हुनसक्ने सम्भावना छ।
यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा केही स्थानमा हल्का हिमपात पनि हुने सम्भावना रहेको छ। महाशाखाले भोलि (मंगलबार)देखि मौसममा सुधार आउने जानकारी दिएको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।