समाचार सुन्नुहोस :
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले ऊर्जामन्त्री दीपक खड्काको विद्युत प्राधिकरणभित्र कार्यकक्ष खोल्ने कदमप्रति आपत्ति जनाएको छ। बिहीबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मन्त्री खड्काको यो गतिविधिलाई “अस्वभाविक हर्कत” ठहर गरेको छ।
माओवादी केन्द्रले मन्त्री खड्काको कदम बिचौलिया र भ्रष्टाचारलाई संरक्षण गर्न लक्षित रहेको निष्कर्ष निकालेको छ। पार्टीले यस्तो कार्यप्रति कडा आपत्ति जनाउँदै यसको विरोधमा खबरदारी सभा आयोजना गर्ने निर्णय गरेको छ। “मन्त्रीको यस्तो हर्कतले प्राधिकरणको काममा अवरोध गरेको छ, बिचौलिया र भ्रष्टाचार जोगाउने काम गरेको छ”, बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले भने, “यसका विरुद्ध व्यवस्थित खबरदारी सभा गर्नेछौं ।”
नेकपा (माओवादी केन्द्र)ले सरकार बिचौलियाको पक्षमा उभिँदै भ्रष्टाचारलाई संस्थागत गर्न खोजिरहेको आरोप लगाएको छ। पार्टीले यसलाई गम्भीरतासाथ लिएर हरेक भ्रष्टाचारजन्य कदमको विरोध गर्ने दृढता व्यक्त गरेको छ। पार्टीका नेता सापकोटाका अनुसार माओवादी केन्द्रले भ्रष्टाचार विरोधी अभियानलाई प्राथमिकता दिँदै सरकारका गलत निर्णयहरूको कडा प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ।