समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई रोमाञ्चक खेल हुनेछन्। पहिलो खेल बिहान ९ बजे कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ। पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको पोखराले यस पटक प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गर्न चाहेको छ। कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखराको टोलीले कमजोर पक्षलाई सुधार गर्दै बलियो प्रदर्शन गर्ने लक्ष्य राखेको छ।
दोस्रोतर्फ, अनिल शाहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले उत्कृष्ट सुरुआत गर्दै पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले पराजित गरिसकेको छ। जनकपुरले यस खेलमा पनि आफ्नो विजयी अभियानलाई निरन्तरता दिने प्रयास गर्नेछ।
दोस्रो खेल दिउँसो १ बजे काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ। एक जित र एक हार दर्ता गरेको काठमाडौंले बलियो टोली सुदूरपश्चिमलाई हराएर आफ्नो जितको लय पुनःस्थापित गर्न चाहन्छ। लगातार जितको यात्रामा रहेको सुदूरपश्चिमले भने आफ्नो शृंखला कायम राख्ने लक्ष्य लिएको छ। पुस ६ गतेसम्म चल्ने एनपीएलमा ८ टोली सहभागी छन्। राउन्ड रोबिन लिगपश्चात शीर्ष चार टोली प्लेअफ चरणमा प्रवेश गर्नेछन्।