समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारका लागि धेरै भन्दा धेरै विद्युत खपत गर्न आग्रह गरेका छन्। संचारकर्मीसँग कुरा गर्दै उनले यो तिहारमा पर्याप्त विद्युत उत्पादन भएकोले जति प्रयोग गरे पनि लोडसेडिङ नहुने बताएका छन्।
उनले यसपालि तिहारको लागि विद्युत आयात गर्न आवश्यक नपर्ने बताउँदै मुलुकभित्रको उत्पादनले मात्र माग पूरा गर्न पर्याप्त रहेको जानकारी दिए। घिसिङका अनुसार, प्राविधिक समस्या नआएमा तिहारको समयमा कतै पनि विद्युत कटौती हुने छैन।
घिसिङले तिहारमा पर्याप्त विद्युत उपलब्ध रहेकाले हामीले विद्युत निर्यात गर्न समेत सक्ने बताए। यद्यपि, असोज महिनामा आएको बाढीले माथिल्लो तामाकोशी लगायत अन्य जलविद्युत आयोजनामा क्षति पुर्याएको भन्दै हिउँदमा भने केही विद्युत आयात गर्नुपर्ने अवस्था हुनसक्ने बताएका छन्।
घिसिङले आफ्नो पहिलो कार्यकालमा लोडसेडिङ अन्त्य गरेपछि उनको नेतृत्वको भव्य प्रशंसा भएको थियो। २०७३ सालको तिहारमा लोडसेडिङ बिना नै सबै ठाउँमा झिलिमिली बत्ती बाल्न सक्ने बातावरण सिर्जना गरेर सर्वसाधारणलाई आश्चर्यचकित पारेका थिए।