Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

नेपाली डायस्पोरामा हाम्रो भाषा संकटमा पर्दै गएको छ । खास गरी डास्पोराका नेपालीहरुबीच भाषा पुस्तान्तरणमा देखिएको चुनौतीका कारण नेपाली भाषा संकटमा पर्दै गएको हो । भाषा रहे न हाम्रो सँस्कृति रहने हो । भाषिक चिन्तनका दृष्टिले अहिले हामी निकै चुनौतीहरुको चाङमा छौं । डायस्पोरामा स्वभाविकरुपमा तन्नेरी पुस्ता स्थापित हुँदै जाँदा नेपालीहरुमा पठन सँस्कृति हराउँदै जान थालेको छ । उसो त पाका पुस्तामा पनि पुस्तक तथा पत्रपत्रिका पढ्ने बानी हराईसकेको पाईन्छ । डिजिटल युगको हवाला दिदैं हामी पत्रपत्रिकाको महत्वलाई नजरअन्दाज गरी अल्छि र नाक खुम्चाउने भएका छौं । यो निकै चिन्ताको बिषय हो । यस्ता बिषयमा खासगरी नेपाली राजदूतावास, एनआरएन, साहित्य समाज, पत्रकार महासंघ, लोकदोहोरी प्रतिष्ठान जस्ता सरोकारवला संघसंस्थाहरु र यहाँ सञ्चालनमा रहेका नेपाली विद्यालयहरुको ध्यान जानुपर्ने देखिन्छ । प्रवासमा हुर्कदों युवा पुस्तालाई नेपालीभाषी कसरी बनाईरहने यो आजको अहम् प्रश्न हो ।

बिरानो मुलुकमा आफ्नै नेपाली भाषाका पत्रपत्रिका र पुस्तक पढ्न र देख्न पाउनु खुशीको बिषय हुनुपर्ने हो । हाम्रो भाषासंगै नेपाली पत्रपत्रिकाले नेपाली साहित्य, कला, सँस्कृति, रितिरिवाज र सामाजिक मूल्य-मान्यताको संबर्द्धनमा पनि योगदान पुर्‍याउँदै आएका हुन्छन् । हाम्रो भाषा, साहित्यका असली माध्यम पत्रपत्रिका तथा पुस्तक पठन सँस्कृतिको महत्व हामीले बुझाउन सकेनौं भने हाम्रा भावी पुस्ताले नेपाली अक्षर र लिपी हेर्न संग्रहालय धाउनुपर्ने दिन नआउला भन्न सकिन्न । पढ्ने सँस्कृति नै हराउँदै गएपछि लेखनको कुरो अझ टाढाको बिषय हो । २, ४ लाइन नेपाली हरफ मिलाएर शुद्धसंग लेख्न सक्ने मान्छेहरु नेपाली सोसाईटीमा पाउन अब मुश्किल हुँदै जान थालेको छ । यस्तो अवस्थामा डायस्पोरामा हुर्कदैं गरेका हाम्रा नानीबाबुहरुमा हाम्रो नेपाली भाषा कसरी पुस्तान्तरण गर्न सकिन्छ भन्ने चुनौतीका बीच हामी अहिले उभिएका छौं ।

जापानमा जन्मेका वा हुर्कदैं गरेका नेपाली नानीबाबुहरुका लागि जापानमा पर्याप्त इन्टरनेशनल स्कुलहरु छैनन् । जसका कारण उनीहरु यहाँ सहज उपलब्ध जापानी स्कुलहरुमा पढाउनुपर्ने अवस्था छ । त्यहाँ पढ्दैं-हुर्कदैं गरेका हाम्रा नानीबाबुहरु नेपाली भाषाबाट बिस्तारै विमुख हुँदै जानु स्वभाविकै हो । यस्तो बेलामा घरमा अभिभावकले पनि उनीहरुलाई नेपाली भाषा सिकून् र नबिर्सियून् भन्ने चाहना नराख्ने हो भने उनीहरुमा पूरै जापानी भाषामा मात्र सीमित हुने बानी लाग्न सक्छ । त्यसैले घरमा नेपाली भाषा बोल्न प्रेरित गर्ने, नेपाली पुस्तक तथा पत्रपत्रिका सँधै उपलब्ध गराईरहने, टेलिभिजनमा नेपाली सामग्री हेर्ने वातावरण बनाउने र संभव भएसम्म नेपाली भाषा पढाउनका लागि अतिरिक्त कक्षा र शिक्षकको ब्यवस्था गर्न सकिन्छ ।

वर्तमानमा हामीले टेकेको जमिन जहाँको भएता पनि नेपाली नागरिकका हैसियतले नेपालीभाषी अर्थात मातृभाषी भईरहन सक्यौं भने मात्र हामीबीच सहज संवाद संभव रहन्छ र आफ्ना अनुभूतिहरु शतप्रतिशत एक-अर्कामा सञ्चार गर्न सकिन्छ । अनि मात्र हामी एक अर्काबीचको आत्मियता, अपनत्व र हार्दिकतालाई बुझ्न र महशुस गर्न सक्दछौं । नत्र नाताले जतिसुकै निकट भएता पनि बिस्तारै भावनात्मक दूरी बढ्दै जान सक्छ । अनि बिस्तारै राष्ट्र र राष्ट्रियताका बिषय क्रमशः ओझेल पर्दै जान सक्छन् ।

डायस्पोराको नेपालीहरुमा उनीहरुभित्र रहेको नेपालीपन जोगाईराख्न भाषा पहिलो सर्त हो । भाषा बिना भावना साट्न सकिदैंन । भाषाकै मुल कारण अबको केहि वर्षभित्रै डायस्पोराको ठूलो हिस्सा नेपाली किशोर-किशोरीहरु नेपाली नागरिकबाट विदेशी नागरिक हुने दिशातिर उद्यत छन् । हुर्कदैं जाँदा मानिस जुन भाषामा अभ्यस्त र सहज महशुस गर्छ त्यहि समाज रोजाईमा पर्नु स्वभाविकै हो । यो निकै गम्भीर र संवेदनशील बिषय हो, हाम्रा कतिपय अभिभावहरुले जानेर वा नजानेर यसलाई स्वभाविक र सहजरुपमा लिएको पनि देखिन्छ । हामीले अभिभावकहरुको मनोविज्ञान बेलैमा बुझेर भाषाको दुरगामी महत्वबारे सचेत गराउने ठोस प्रयासको थालनी गर्ने हो भने अपेक्षित र सकारात्मक परिणाम निकाल्न असंभव छैन । भाषा राष्ट्रियताको प्राण हो । हामीले हाम्रो भाषा सर्लक्कै भुल्यौं भने हामीमा नेपालीपन बांकी रहंदैन र नेपाली नागरिक भईरहन कालान्तरसम्म संभव छैन । जापानको नेपाली समुदाय अहिले यो दिशामा उन्मुख छ । यसको न्यूनिकरणका लागि संभावित पहलहरु गर्न हामी यथाशिघ्र सर्बपक्षिय छलफल र बहसमा बस्न जरुरी छ ।***

तपाईको प्रतिक्रिया