Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १०, २०८१
Saturday, October 26, 2024

काठमाडौं – इजरायली सेना (आईडीएफ) ले इरानी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण अब समाप्त भएको बताएको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरेको र आफ्ना लडाकु विमानहरू सकुशल स्वदेश फर्किएको जानकारी दिएको छ ।

यसअघि, इजरायलको सेनाले ‘इरानको सैन्य लक्ष्यमा सटीक हमला’ गरिरहेको बताएको थियो । इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा धेरै विष्फोटको आवाज सुनिएको पनि जानकारी दिएको थियो । इजरायलले विश्वका अन्य सार्वभौम राष्ट्रहरू जस्तै इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य रहेको भन्दै इरानमाथि जवाफी कारवाही शुरु गरेको बताएको थियो ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले अक्टोबर ७, २०२३ पछि इरानको शासन र यस क्षेत्रका उसका सहयोगीहरूले लगातार इजरायलमा आक्रमण गर्दै आएको बताउँदै आफूहरू रक्षात्मक र आक्रामक क्षमतामा पूर्ण रूपमा सक्रिय रहेको बताएका थिए ।

अक्टोबर १ मा इरानको मिसाइल आक्रमणको जवाफमा इजरायलले यी आक्रमणहरू गरेको बताएको छ । राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । समाचार एजेन्सी रोयटर्सले इरानको सरकारी टिभीलाई उद्धृत गर्दै इरानी गुप्तचर अधिकारीले इरानको वायु रक्षा प्रणाली सक्रिय भएको कारण ठूलो आवाजमा विस्फोट भएको हुन सक्ने बताएको जनाएको छ ।

यद्यपि, इजरायलले इरानमा कुन किसिमको सैन्य लक्ष्यमा आक्रमण गरेको छ भन्ने अझै स्पष्ट भइसकेको छैन। समाचार एजेन्सी एएफपीले इरानको सरकारी टिभी च्यानलमार्फत तेहरानका दुई विमानस्थल ‘सामान्य’ रूपमा सञ्चालन भइरहेको बताएको छ। ह्वाइट हाउसले इरानमा इजरायलको आक्रमणबारे आफूलाई जानकारी भएको बताएको छ।

यद्यपि, आक्रमण कुन स्तरमा र कुन स्थानमा भएको हो भन्ने खुल्न सकेको छैन । सिरियाको सरकारी समाचार एजेन्सीले इजरायली सेनाले सिरियाको मध्य र दक्षिणी क्षेत्रमा रहेका केही सैन्य लक्ष्यमा पनि आक्रमण गरेको जनाएको छ । इजरायलको आक्रमणको जवाफमा, इरानले अक्टोबर १ मा २ सय भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया