Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – ममता काफ्ले भट्ट अमेरिकामा गायब भएको मुद्दामा अझै धेरै प्रश्नहरू अनुत्तरित छन् । पेसाले नर्स रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्त ५ मा प्रहरीमा उजुरी दर्ता गराएका थिए । तर, उनीबाहेक अन्यले ममतालाई अन्तिम पटक जुलाई २८ मा देखेका थिए ।

प्रहरीले नरेशलाई गत अगस्त २२ मा पक्राउ गरेको थियो । उनी अझै पनि प्रहरी हिरासतमा नै रहेका छन् । न्यायाधीशले नरेश समुदायका लागि ‘खतरा’ रहेको ‘आवश्यक प्रमाण’ भएको भन्दै उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेका थिए । उनीमाथि ममताको हत्या गरी शव लुकाएको आरोप लगाइएको छ । यस विषयमा डिसेम्बर ९ देखि सुनुवाइ सुरु हुँदैछ ।

त्यसअघि आगामी बिहीबार उनी पुनः अदालतमा उपस्थित हुनेछन् । उनका वकिलले पक्राउ पुर्जी खारेज माग गर्दै रिट निवेदन दर्ता गराएका छन् । यही विषयमा अदालतले आफ्नो फैसला सुनाउनेछ । अमेरिकी सञ्चारमाध्यमका अनुसार रिट निवेदनमा नरेशका वकिल सालेभ बेन अब्राहमले उनलाई कहिले पनि ममता हराएको उजुरी दर्ता गर्न नभनिएको दाबी गरेका छन् ।

त्यसैले अगस्त २ मा ‘वेल्फेयर चेक’ का क्रममा नरेशले उजुरी दर्ता नचाहेको भन्ने कमनवेल्थको दाबी सही नभएको वकिलको तर्क छ । नरेशलाई पक्राउ गर्न थुप्रै गलत भनाइहरू प्रयोग गरिएको उनले दाबी गरेका छन् । उनले आफ्नो निवेदनमा उनले कमनवेल्थकी वकिल एमी एसवर्थलाई मानासस पार्क प्रहरी क्याप्टेन स्टेभन लभिङले पठाएको पत्रको विषयमा जिकिर गरेका छन् । पत्रमा क्याप्टेन लभिङले डिटेक्टिभ भेन्चुरासँग आपराधिक उजुरीको बारेमा छलफल गरेका छन् ।

पत्रमा ममताको शवलाई घरबाट घसिटेर बाहिर लगेको उल्लेख गरेको विषयलाई नरेशका वकिलले जोड दिएका छन् । ‘गलत भनाई बिना, नरेशविरुद्ध पक्राउ पुर्जी जारी हुने थिएन र उनीविरुद्ध कुनै मुद्दा नै हुने थिएन । उनलाई धरौटीमा रिहा गरिनुपर्छ,’ वकिल अब्राहमले रिट निवेदनमा उल्लेख गरेका छन् ।

यत शुक्रबार, मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोले सञ्चारमाध्यमसँग कुराकानी गर्दै नरेश भट्टविरुद्धको मुद्दा प्रमाणमा आधारित भएको स्पष्ट पारेका थिए । ‘हामीसँग यो विषयमा थप प्रमाणहरू छन् । यतिबेला नरेशका वकिलले हामीलाई शवलाई घरबाट कसरी निकालियो भन्ने विषयमा हामीलाई घेरिरहेका छन् । तर, यो हामीसँग भएका प्रमाणहरूको एक अंश मात्र हो । यो मुद्दामा यस्ता थुप्रै प्रमाणहरू छन्,’ उनले भने ।

यसबारे अनुसन्धान सुरु भएयता एक दर्जनभन्दा बढी सर्च वारेन्ट जारी भएर १० वटा भन्दा बढी स्थानमा ममता हराएको विषयमा खोजी गरिएको पनि उनले जानकारी दिए । ‘हामीले कुकुरको प्रयोग गरेर पनि खोजी गरेका छन्, उनले भने, ‘हामीले करिब ३० वटा सर्च वारेन्टका लागि निवेदन दिएका छौँ ।’

उनले यी सर्च वारेन्टहरू दम्पतीको घर, कारको तथ्याङ्क, बैंकबाट आर्थिक अवस्था, फोनको रेकर्ड, जीपीएस लगायत विषयमा भएको बताए । यसमध्ये नरेशको एउटा भिडियो प्रमाण निकै महत्त्वपूर्ण रहेको उनको भनाई छ । ‘नरेश केही स्थानमा भएको भिडियो हाम्रोका लागि निकै सहयोगी बन्यो,’ उनले भने, ‘हामीलाई यस विषयमा थप जानकारी प्राप्त भइरहेको छ । हामीले यहफ विषयमा केन्द्रित भइरहेका छौँ । हामीले थुप्रै जनासँगै सोधपुछ पनि गरेका छौँ । केहीलाई त फेरि बोलाएर पनि सोधपुछ गरिएको छ ।’

उनले विभिन्न स्थानमा खोजी गरे पनि पानीमा भने खोजी हालसम्म नगरिएको बताए । ‘हामीलाई प्राप्त सूचना र नरेशले बयानमा भनेका केही कुराले ममताको शव पानीमा हुनसक्ने पनि आशंका गरिएको छ,’ प्रहरी प्रमुख मारियो लुगोले भने । प्रहरीलाई प्राप्त भएको सूचना र नरेशको जीपीएस लोकेसनलाई त्यसलाई मिलान गर्ने प्रयास पनि गरिएको लुगोको भनाई छ । उनले आगामी दिनमा थप खोजी कार्य गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।

‘केही मानिसहरूले सामाजिक सञ्जालमा ममता अझै जीवित नै रहेको दाबी पनि गरिरहेका छन्,’ लुगोले भने, ‘तर, मलाई लाग्दैन उनी जीवित छन् । त्यसलाई प्रमाणित गर्ने कुनै आधार छैन । यो केसलाई निष्कर्ष पुर्‍याउन हामी प्रयासरत छौँ । हामी ममतालाई न्याय दिन चाहन्छौँ ।’

तपाईको प्रतिक्रिया