Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध तीनवटा गम्भीर कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाउने प्रक्रिया थालिसकेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सहकारी छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले जिल्ला स्तरमा मुद्दा दर्ता गर्नेछ । गृहमन्त्रीको पदबाट बाहिरिएपछि लामिछानेमाथि अनुसन्धान प्रक्रिया तिव्र भएको हो । यसअघि, लामिछाने गृहमन्त्री बनेपछि मुद्दाको अनुसन्धानमा ढिलाइ भएको थियो । संसद्को समितिबाट प्रतिवेदन आएको केही समयपछि छानविन कार्यलाई पुनः गति दिइएको हो ।

कास्कीका प्रहरी अधिकारीहरूले मुद्दा दर्ता गर्न प्रतिवेदन तयार पार्न केही दिन लाग्ने बताउँदै आएका छन् । सम्पत्ति शुद्धीकरण विभागमा समेत मुद्दा दर्ता गर्नुपर्ने प्रक्रिया अघि बढाइएको छ । सहकारी ठगी प्रकरणमा अन्य सञ्चालक र पूर्वसञ्चालकहरूलाई पहिले नै कानुनी दायरामा ल्याइएको थियो तर, रवि लामिछानेको गृहमन्त्री पदका कारण उनीमाथिको अनुसन्धान लामो समयसम्म स्थगित भएको थियो । सहकारी छानविन समितिले पूर्वगृहमन्त्री रवि लामिछानेसँगै पूर्वडिआइजी छविलाल जोशी, कुमार रम्तेल, र जिबी राईलाई पनि कानुनी प्रक्रियामा ल्याउन सिफारिस गरेको छ ।

छानविन समितिको निष्कर्ष अनुसार यिनीहरूलाई सहकारीका बचतकर्ताहरूको रकम अपचलन गरेको आरोप लागेको छ । समितिले आफ्नो प्रतिवेदन संसदमा बुझाइसकेपछि सभामुखले प्रतिवेदन सरकारलाई कार्यान्वयनका लागि पठाउन निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को बैठकले पनि प्रतिवेदनलाई गृह मन्त्रालयमा पठाएर तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले प्रतिवेदन प्रहरी प्रधान कार्यालयलाई पठाएको छ । अब आवश्यकतानुसार यो प्रतिवेदन सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइनेछ, जहाँ मुद्दा दर्ता प्रक्रिया अघि बढाइनेछ ।

जिबी राईले सहकारीका बचतकर्ताको रकम रविसमेत सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्कमा लगेको र रवि लामिछाने समेतले उक्त रकम अपचलन गरेको समितिको निष्कर्ष छ । समितिले रवि लामिछानेले आफैँ चेक काटेर के कति रकम कहाँकहाँ खर्च गरे भन्ने पनि प्रतिवेदनमै उल्लेख गरेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया