Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

नेपाली नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तीज नजिकिदैं छ । परम्परागत धार्मिक आस्था र सँस्कार-सँस्कृतिसंग जोडिएको तीज पर्व अब हिन्दु धर्मावलम्बीहरुको मात्र चाड रहेन । यो अब नेपालीहरुको साझा सामाजिक पर्व बनिसकेको छ । स्वदेशमा होस् या विदेशमा, सहरमा होस् या गाउँमा तीज पर्वको उल्लासले नेपाली नारीहरु अचेल महिनौ रमाउने गर्दछन् । कलाकारहरुले पनि तीजलाई नै लक्षित गरी आफ्ना नयाँ नयाँ सिर्जनाहरु पस्किरहेका हुन्छन् । तीज गीतका नाममा नेपाली समाजले सहजै पचाउन नसक्ने सिर्जनाहरु पनि यदाकदा बजारमा आउने गरेको भन्दै सामाजिक सञ्जाल लगायत सार्बजनिक मञ्चहरुमा बिरोध भईरहेका छन् । एकातिर सर्जक तथा कलाकर्मीहरुबाट गीतका शब्द, भाव र सन्देशमा सामाजिक मूल्य, मान्यता एवं मर्यादामाथि अतिक्रमण भईरहेको छ भने अर्कोतिर तीज मनाउने शैली र परम्परामा पनि हाम्रो समाजले धान्नै नसक्ने गरी भडि्कलो बन्दै गइरहेको छ । जसले गर्दा पछिल्ला दिनहरुमा तीज मनाउने मौलिक सँस्कृतिका नाममा विकृति फैलिन थालेको छ ।

आजका नेपाली महिbiलाहरुलाई तीजका नाममा महिनौसम्म रुमल्लिने मानसिकताले गाँजेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोग, देखासिकी, लोकलाज र सामाजिक प्रतिष्ठासंग जोडेर हेर्ने प्रवृत्तिले तीज पर्व अचेल आधुनिक कलेबरमा फेशन जस्तै भईसकेको छ । जसअनुसार नियमित हुने भोजभतेर र पार्टीका कारण उनीहरुको दैनिकी खर्चिलो बन्दै गईरहेको छ । भिडभाड र सामुहिक भोजभतेरमा हुने खानपानका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने संभावना त छँदै छ आफ्नो नियमित कामधन्दा र ब्यापार ब्यवसायमा पनि समय दिन नसक्दा नकारात्मक असर परिरहेको हुन्छ । अझ डरलाग्दो पक्ष त यसको प्रत्यक्ष प्रभाव अहिले हुर्कदैं गरिरहेको नयाँ पुस्तामा पनि परिरहेको हुन्छ । त्यसैले समाजका जिम्मेवार महिला अगुवाहरुबाट तीज पर्व मनाउने सन्दर्भमा चुस्त, दुरुस्त र ब्यवस्थित बनाउँदै लैजान तदअनुरुपको भूमिका निर्बाह गरिनु अपरिहार्य छ । एकातिर तीज पर्व थप भडकिलो बन्दै गईरहेकोले चिन्ताको बिषय बन्न पुगेको छ भने अर्कोतिर नेपाली समाजका हरेकजसो संघसंस्थाहरुले प्रतिस्पर्धाकै शैलीमा एकपछि अर्को सानाठूला तीज कार्यक्रमहरुको आयोजना गर्ने क्रम बढ्दो छ । यसले के देखाउँछ भने हाम्रो नेपाली समाजको मनोविज्ञान औसतमा सुधारोन्मुख भन्दा देखासिकी सँस्कारमा रमाउन थालेको पाईन्छ । छोरीचेलीको बुहार्तन, न्यास्रोपन र पीडालाई माइतीको आँगनमा जम्मा भएर तीजे भाकामा पोखिईने यस पर्वका अर्गानिक सँस्कार र सँस्कृतिलाई आधुनिकताको नाममा पार्टी प्यालेस, रेष्टुरेन्ट र डान्सबारमा तीज पोखिन थालेको छ । यसलाई समयमै रोक्न सकेनौ भने सदियौंदेखि हाम्रो सामाजिक सद्भाव, नेपाली एकता र भाइचारालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको तीज पर्वको विरासत इतिहासमा मात्रै सीमित नरहला भन्न सकिदैंन । त्यसैले समाजका जिम्मेवार वर्ग, महिला अभियान्ता तथा अधिकारकर्मीहरुको यसतर्फ बेलैमा ध्यान जान आवश्यक छ ।

तीज पर्वलाई वास्तवमा आजको परिप्रेक्ष्यमा महिला सशक्तिकरण र महिला जागरण अभियानका रुपमा मनाईनु वाञ्छनीय छ । हरेक वर्ष आउने तीज पर्वमा तीज विशेष साँगीतिक मनोरञ्जनका साथै समाजका हरेक तह र तप्काका महिलाहरुलाई जागरुक र सक्षम बन्न अभिप्रेरित गर्ने खालका कार्यक्रमहरु आयोजना गरिनुपर्दछ । हरेक नेपाली नारीहरु समाजको जस्तोसुकै जिम्मेवार भूमिका पनि निर्बाह गर्न सक्षम बन्न सकून् भन्ने सन्देश प्रवाह गर्ने मानककारुपमा तीज पर्व स्थापित हुनुपर्दछ । समयक्रमसंगै हामीले चाड पर्व मनाउने शैलीमा पनि परिवर्तन ल्याउनु त पर्दछ तर आफ्नो धरातल र मौलिकता भने कदापि बिर्सनु हुँदैन । उल्लास र उमंगको रंग भर्ने नारीहरुको विशेष पर्व तीजको अवसरमा नेपाल आमाकी छोरीहरु सबैमा यस पर्वले सकारात्मक ऊर्जा प्रवाह गर्न सकोस् हार्दिक शुभकामना । ***

तपाईको प्रतिक्रिया