Deneme Bonusu Veren Siteler
शनिबार, भाद्र २९, २०८१
Saturday, September 14, 2024

टोकियो – हिन्दु नेपाली नारीहरुको सबैभन्दा उल्लासको पर्व हरितालिका तीज नजिकिदैं गर्दा जापानमा पनि तीजको रौनकता ह्वात्तै बढेको छ । जापानका विभिन्न सहरहरुमा दर्जनौ तीज विशेष साँगीतिक कार्यक्रम आयोजित छन् भने कतिपय सम्पन्न भईसकेका छन् । नेपालमा महिना दिन अगाडिदेखि नै तीजको चहलपहल सुरु हुने सँस्कार यता जापानसम्म पनि आईपुगेको छ । नेपालीहरुको बाक्लो बस्ती नजिकका प्रायः रेल स्टेशनतिर अचेल दिनहुँजसो राता सारी, चुरा पोते र छड्के तिलहरीमा सजिएका नेपाली नारीहरुको हुल यत्रतत्र देख्न सकिन्छ । यहाँका नेपाली संघसंस्थाहरुले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रमको आयोजना गरी आफ्ना चेलीबेटीहरुलाई भेला गराएर दर खुवाउने प्रचलन छ ।

कार्यक्रम गर्दा धेरैजसो आयोजकहरुले सकेसम्म ठूलो हलमा र नभए अलि ठूलो स्पेश र स्टेज भएको रेष्टुरेन्टमा कार्यक्रमको आयोजना गर्ने गर्दछन् । जसअनुसार गत अगष्ट २५ तारिख आईतबार दर्शन समाज जापान, छन्त्याल समाज जापान, दिदिबहिनी समुह टोकियो र एनआरएनएको क्षेत्रिय कमिटी कान्तोले तीज विशेष कार्यक्रम सम्पन्न गरिसकेका छन् । यसैगरी २७ तारिख मंगलबार बडागाउँ समाज जापान र वामी सेवा समिति जापानले र २८ तारिख निलुवा समाज जापानले पनि तीज विशेष कार्यक्रम सम्पन्न गरिसकेका छन् भने अगष्ट २९ तारिखका दिन भान्सा सेवा समाज र कुर्घा समाज जापानको तीज विशेष कार्यक्रम सम्पन्न हुने क्रममा छन् । यसैगरी ३१ तारिखका दिन एनआरएन गुन्मा क्षेत्रीय कमिटीको तीज विशेष कार्यक्रम आयोजित छन् । सोही दिन एनपीए इन्टरनेशनलको आयोजनामा नेपालबाट आमन्त्रित प्रताप दास, मेलिना राई र स्थानीय कलाकारहरुको साथमा तीज लाइभ कन्सर्ट हुने भएको छ ।

यसैगरी सेप्टेम्बर १ तारिख आईतबारका दिन मोना जापान, नेपाली जनप्रगतिशील मञ्च जापानको कान्तो क्षेत्रीय कमिटी, पाल्पा समाज जापान र मालिका समाज जापानले टोकियोमा तीज विशेष कार्यक्रम गर्दैछन् भने सोही दिन गाइकोकु नेपाली कम्युनिटी शिजुओका र गोरखनाथ एफसी नुमाजुको संयुक्त आयोजनामा शिजुओका प्रान्तको नुमाजुमा तीज विशेष कार्यक्रम हुने भएको छ । सोही दिनमै द ब्रदर्स ग्रुप नागोयाको आयोजनामा नागोयामा पहिलोचोटी खुल्ला पार्कमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको छ । यसैगरी सेप्टेम्बर २ तारिख सोमबारका दिन बिहुँकोट समाजको आयोजनामा ओसाकामा, नेपाली समाज होक्काइडोको आयोजनामा होक्काइडोमा तीज विशेष कार्यक्रम हुने भएको छ भने सोही दिन रुरु रेसुङ्गा दरबार ग्रुपको आयोजनामा स्थानीय कलाकारहरुको साथमा टोकियोको शिनओकुबोमा तीज विशेष कार्यक्रम हुने भएको छ । यसैगरी सेप्टेम्बर ३ तारिखका दिन बिहुँकोट समाजको आयोजनामा ओकायामामा र नेपाल जापान कल्चर सोसाइटीको आयोजनामा टोकियो नाकानो जेरो हलमा तीज विशेष कार्यक्रम हुने भएको छ । यसैगरी सेप्टेम्बर ४ का दिन गल्कोट समाज जापान टोकियो क्षेत्रीय कमिटीको आयोजनामा कलाकारहरु जुना श्रीष, सम्झना लामिछाने मगर, सूर्य खड्का, सृजना कुँवर लगायतको प्रस्तुती रहने इकेगामी खाइकानमा तीज विशेष कार्यक्रम रहेको छ भने सोही दिन कास्की पोखरा समाज, नवलपुर समाज, कुँडुले समाज र गल्कोट सँस्कृति संरक्षण तथा समाज बिकास मञ्चको तीज विशेष कार्यक्रम रहेको छ ।

यसैगरी सेप्टेम्बर ५ तारिखका दिन अर्घाखांची समाज जापान, लेखानी समाज र लाइफ फर फ्रेण्ड्स ग्रुपको आयोजनामा टोकियोमा र एभरेष्ट फुजी सोसाइटीको आयोजनामा हामामाचुमा तीज विशेष कार्यक्रम रहेको छ । यसैगरी सेप्टेम्बर ६ तारिख शनिबार तीजकै दिन बिहुँकोट समाज जापान र गुल्मेली समाज जापानको टोकियोमा तीज विशेष कार्यक्रम आयोजना गरिएका छन् ।
यस वर्षको तीज कार्यक्रमका लागि नेपालबाट जापान आमन्त्रित कलाकारहरुमा रामजी खाँड, जुना श्रीष मगर, समिक्षा अधिकारी, प्रताप दास, मेलिना राई, सम्झना लामिछाने मगर, रुपा घर्ती मगर, शान्ता रानी परियार, नरेश खाती लगायत रहेका छन् । उनीहरु यस अघि पनि पटक-पटक साँगीतिक कार्यक्रमका लागि जापान आईसकेका कलाकारहरु हुन् । हालसम्म जापानमा नाम चलेका विभिन्न संघसंस्थाहरुले तीज विशेष साँगीतिक कार्यक्रमको आयोजना गर्दै आएकोमा पछिल्लो समयमा नयाँ नयाँ नामको आयोजक सुनिन थालिएको छ, जुन यसअघि कहिलै सुनिएका थिएनन् । उनीहरु तीज कार्यक्रम आयोजना गर्ने प्रयोजनका लागि मात्र हुन् या दीर्घकालिन प्रयोजनका लागि पनि हुन् त्यो भने हेर्न बाँकी छ ।
तीज पर्वका नाममा बिकृति र बिसंगती बढ्न थालेको भन्दै एकातिर चिन्ताको बिषय बनेको छ भने अर्कोतर्फ तीज पर्वको क्रेज भने दिन दुईगुणा र रात चारगुणाका दरले बढ्दोक्रममा छ । महिनौसम्म मनाउन थालिएको तीज देखासिकी र भडि्कलो बन्दै गईरहेको र तीजका नाममा नेपाली समाजले सहजै पचाउनै नसक्ने खालका छाडा गीतहरु आउन थालेको भन्दै बिरोध पनि हुन थालेका छन् । तर त्यस्ता गीतहरुका सन्दर्भमा शुरुका केहि दिन हल्का बिरोध भएता पनि बिस्तारै सेलाएर जाने गरेको विगतको नजिर छ । यि र यस्ता बिषयमा समाजका जिम्मेवार अगुवाहरुको बेलैमा ध्यान जानुपर्ने भन्दै सर्बसाधारणले चिन्ता ब्यक्त गर्न थालेका छन् । – प्रस्तुती तिलक मल्ल  

 

तपाईको प्रतिक्रिया