Deneme Bonusu Veren Siteler
शनिबार, पौष ०६, २०८१
Saturday, December 21, 2024

धेरै मानिससँग योजना हुन्छ, स्वदेशमै केही गर्ने सोच पनि हुन्छ तर, पुँजीको अभावका कारण उद्योग सञ्चालनमा ल्याउन पाएका हुँदैनन् । पुँजी अभाव भएकाहरुका लागि उद्योग सञ्चालन गर्न सहयोगी बन्न सक्छ ‘स्टार्टअप’ उद्यम कर्जा । यसले देशमा व्यावसायिक वातावरण सिर्जना गर्न र यस क्षेत्रमा संलग्न हुन चाहेर पनि नसकिरहेकाहरूलाई सहायता प्रदान गर्नेछ । सरकारले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत कर्जा प्रवाह, सीप तथा तालिम दिइरहेको छ । स्टार्टअप उद्यमलाई प्रोत्साहन र प्रवद्र्धन गर्न के के भइरहेको छ त ? यिनै विषयमा केन्द्रीत रहेर प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्तासँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सारसंक्षेप :-

सरकारले स्टार्टअपलाई प्राथमिकता दिएको छ । खासमा के हो स्टार्टअप ?
नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका उद्यमीले त्यही सोचअनुसार केही नयाँ उद्यम गरिरहेका छन् भने त्यो नै स्टार्टअप हो । यो विश्वमै नयाँ विषय हो र नेपालका लागि पनि नयाँ विषय नै हो । स्टार्टअपलाई नेपाल सरकारले पनि प्राथमिकतामा राखेको छ । मन्त्रिपरिषद्ले स्टार्टअप सम्बन्धी नीति पारित गरिसकेको छ । त्यो भन्दा अघि नै औद्योगिक व्यवसाय ऐन, २०७६ ले पनि यसका धेरै कुरा समेटेको थियो । कर्जा प्रवाह गर्नका लागि मुख्यतः तीन क्याटगोरी बनाइएको छ । पाँच लाखसम्म कर्जा हो भने एक किस्तामा दिने, १५ लाखसम्म हो भने दुई किस्तामा दिने र २५ लाखसम्म हो भने तीन किस्तामा कर्जा दिने व्यवस्था गरिएको छ । एक भन्दा बढी किस्तामा कर्जा लिनेका लागि पहिलो किस्तामा पाउनेले दोस्रो किस्ता माग गर्दा पहिलो किस्तामा गरेको कामको ‘प्रोग्रेस रिपोर्ट’ बुझाउनु पर्छ । त्यो रिपोर्ट बुझाउँदै गर्दा मूल्यांकन टीमले स्थलगत निरीक्षण पनि गर्छ । तेस्रो किस्ताको माग गर्दा दोस्रो किस्तामा गरेको कामको प्रोगेस रिपोर्ट बुझाउनु पर्छ । यसरी फिजिकल भेरिफिकेसन भएपछि मात्र तेस्रो किस्ता प्रवाह हुन्छ । सरकारले यो कर्जा जम्मा ३ प्रतिशत ब्याजदरमा प्रवाह गरेको हो । अर्को कुरा, कर्जा लिइसकेपछि पहिलो वर्ष सावाँ र ब्याज तिर्नु पर्दैन ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कस्ता योजना बनाइरहेको छ ?
हामीले स्थापना कालदेखि नै राष्ट्रको औद्योगिक विकासको लागि उद्यमशीलता विकास, व्यवसाय व्यवस्थापन, अनुसन्धान गर्दै आएका छौं । नवप्रर्वतक उद्यमी प्रोत्साहन गर्न स्टार्टअप उद्यमलाई विषेश प्रथामिकता राखेर सरकारले गत वर्ष भन्दा झण्डै चार गुणा बजेट बढाएको छ । चालु आर्थिक वर्षमा उद्यम कर्जाका लागि १ सय ८३ वटा परियोजना छनोट भएर काम सुरु गरेका छन् । उद्यम व्यवसाय गर्ने नवीनतम सोच र क्षमता भएका उद्यमीलाई पहिचान गरेर सरकारले ल्याएको कार्यक्रमलाई अब कार्यान्वयन सुुरु गर्दै छौं । यस पटक अनलाईनबाटै आवेदन लिनेदेखि परियोजना छनोटमा प्रतिष्ठानले आफैँ पनि अनुगमन र अध्ययन गरेर काम गर्दैछ ।कस्ता स्टार्टअप उद्यम क्षेत्रलाई प्राथामिकता दिनुहुन्छ ?
नेपालमा पछिल्लो समय काम गर्न सक्ने युवा जनशक्ति पलायन भइरहेको छ । पलायन समाधान होइन स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण समेत स्टार्टअप व्यवसायमा लाग्नु भएकाले गरेर देखाउनु भएको छ । नेपालमा केही गर्न सकिन्छ भनेर विदेशबाट फर्केर नयाँ स्टार्ट उद्यममा लाग्नेको संख्या समेत बढ्दो छ । त्यसैले सरकारले बजेटमा समेत स्टार्टअप व्यवसायलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याएको हो । विषेशगरी प्रतिष्ठानले कृषि, पर्यटन प्रवद्र्धन ,मनोरञ्जन, आइटी, स्वास्थ्य, अटोमोबाइल, खानी तथा खनिज अनुसन्धानलगायतको क्षेत्रमा प्राथिमिकता दिने काम भएको छ । नेपालमा पनि स्टार्टअप व्यवसाय गरेर धेरै राम्रो प्रगति गरेका स्वदेशी कम्पनीहरु समेत छन् । राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ स्वीकृत भएको छ, यसले अझै काम गर्नका लागि सहज बनाएको छ । स्वरोजगार बन्नका लागि स्टार्टअप व्यवसायको महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले समेत हामी स-साना व्यवसायलाई सीप र तालिम दिने र ठूलो व्यवसायलाई लगानी गर्ने वातावरणको बनाउँदै गएका छौं ।

नेपालको अर्थतन्त्रको विकासको लागि उद्यमशीलताको आवश्यकता कति छ ?
नेपालमा उद्यमशीलता अर्थात स्टार्टअप उद्यमको सुरुवात राम्रो छ । हाम्रोमा ठूला–ठूला उद्योग भन्दा स–साना तथा घरेलु उद्यमबाट नै अर्थतन्त्र चलायनमान भएको छ । स्टार्टअप व्यवसायमा सुरु गरेको कम्पनी अहिले हजारौंलाई रोजगारी दिने भएका छन् । हाम्रो मुलुकमा स–सानो काम मात्र गर्ने हो भने अर्थतन्त्रलाई समेत माथि उठाउने काम गर्न सकिन्छ । हामी पछिल्लो समय परम्परागत कृषि र पशुपालनबाट व्यवसायतर्फ अगाडि बढेका छौं । उत्पादनमूलक उद्योग, पर्यटन, आइटी क्षेत्रसमेत धेरै आशावादी क्षेत्र हुन् । यी क्षेत्रमा लगानी गरेर प्रतिफल राम्रै ल्याउन सक्ने अवस्था छ । सरकारको नीति तथा कार्यक्रम समेत स्टार्टअपकै रुपमा थोरै लगानीबाट उद्यमलाई अगाडी बढाउने नै छ । जसरी उद्यम क्षेत्रमा लगानी र कर्जा हुन्छ त्यसले अर्थतन्त्र ठूलो योगदान दिन सक्छ ।

विश्वका अन्य मुलुकहरूमा स्टार्टअप सम्बन्धी नीतिले कत्तिको काम गरेको छ ? के नीतिअनुसार काम भएको छ ?
मेरो विचारमा विश्वमा यो धेरै सफल भएका नीति हो । नेपालमा पनि यो नीति सफल हुने अपेक्षा हामीले गरेका छौं । सुरुआतमै भएका कारण हामीले केही संशोधन गरेर अघि बढ्नुपर्ने पनि देखिएको छ । यो काम क्रमशः हुँदै जानेछ । अर्थात् नीतिलाई प्रभावकारी बनाउने प्रयास भइरहनेछ ।

नेपालमा स्टार्टअप उद्यमको प्रवद्र्धन र विकास गर्न कस्तो अवसर छ ?
नेपालमा उद्यम क्षेत्रमा राम्रो सम्भावना छ । तर, यसको लागि धैर्यता आवश्यक छ । अहिले आजै लगानी गरेर एकैपटक कमाई गर्ने सोच युवा पुस्तामा हुँदा स्टार्टअपमा लगानी गर्नेहरु समेत हतोत्साहित भएको देखिन्छ । तर, चिया पसलदेखि आइटी क्षेत्रमा काम गर्नेहरुको प्रगति धेरै राम्रो छ । कृषिमा माछापालन, अफ सिजनको तरकारी, फलफूल जस्ता क्षेत्रमा राम्रो आम्दानी भएको देखिन्छ । पछिल्लो समय ग्रामिण पर्यटकको लागि होमस्टेदेखि रिसोर्ट सञ्चालन गरेर राम्रो आम्दानी गरेका छन् । नेपालमा व्यवसाय गर्ने संस्कारको कमीको कारणले विदेश पलायन बढेको हो । तर, अहिले देशमै गरे हुन्छ भन्ने सोच भएका केही युवा पुस्ताले काम पनि गरेका छन् । त्यसमा उनीहरुलाई सरकारको साथ चाहिन्छ । सरकारले समेत उद्यमशीलतालाई जसरी प्राथामिकता राखेको छ त्यसले स्टार्टअप व्यवसाय गर्नेका लागि अवसर बन्ने छ ।यो कार्यक्रम निरन्तर अघि बढ्ने सुनिश्चितता के हो ?
यो विषय नेपाल सरकारको नीति तथा कार्यक्रममै समेटिएर आइसकेको छ । सरकारको प्राथमिकतामा परेको विषय भएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा अहिले यससम्बन्धी काम भइरहेको छ । हामी स्टार्टअपका लागि विभिन्न तालीम पनि आयोजना गर्दै छौं । व्यवसाय सम्बद्र्धन केन्द्र स्थापना भइसकेकाले यो प्रगतिकै पथमा अघि बढ्छ भन्ने हाम्रो विश्वास हो । मुख्य कुरा कार्यविधि अनुसार नै कर्जा प्रवाह गर्ने काम हुन्छ । स्वरोजगार मात्र होइन, हामी यसबाट रोजगारी सिर्जना गरेर अघि बढ्ने लक्ष्यमा जुटेका छौँ ।

स्टार्टअपबाट लाभ चाहिँ कसरी लिन सकिन्छ ?
थोरै ब्याजमा र छुट्टै सम्पत्ति धितो नराखेरै कर्जा पाउने भएपछि केही गर्छु भन्नेहरूका निम्ति यो आफैमा प्रत्यक्ष फाइदाको विषय भयो । अर्को, पहिलो वर्ष कर्जाको किस्ता तिर्नुपर्ने बाध्यता नै भएन । जसले गर्दा पैसा आउने बित्तिकै उद्यमीले फेरि लगानी गर्न पाउनुहुने भयो । त्यसले बजार थप बिस्तार हुने भयो । त्यसबाट रोजगारी पनि सिर्जना हुने भयो । जो–जो उद्यमीहरूले आवेदन दिनुभएको छ, उहाँहरूले २५ लाख कर्जा पाएमा थप ६ देखि १२ जनासम्मलाई रोजगारी दिने दाबी गर्नुभएको छ । त्यसो हुन सक्यो भने यसबाट राम्रो रोजगारीको अवसर सिर्जना हुन सक्छ ।

स्टार्टअप उद्यममा चुनौती चाहिँ कत्तिको छ ?
परियोजना नै धितोका रूपमा रहने हुँदा केही चुनौती भने हुन सक्छन् । हाम्रो उद्देश्य उद्यमशीलता प्रवद्र्धन गर्ने हो । तर गलत गर्नेहरूका लागि केही कानुनी प्रावधान पनि छन् । जस्तो, राहदानी रोक्का गर्ने, चलअचल सम्पत्ति बेचबिखनमा रोक लगाउने, कालोसूचीमा राख्ने लगायतका प्रावधानहरू पनि राखिएको छ । यसलाई सकारात्मक ढंगले बुझ्नुपर्दछ । यो कार्यक्रमले देशमा भएका सम्भावनाहरूबाट उत्पादन बढाएर आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पु-याउने छ । उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, दातृ निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लगायतबाट पनि राम्रो सहयोग मिलेको छ ।

अन्त्यमा प्रतिष्ठानले सरकार र निजी क्षेत्रसँग कसरी सहकार्य गर्छ ?
हामी सरकारी निकाय हौं । सरकारको नीति तथा कार्यक्रम अनुसार नै हामी उद्यमशीलताको विकासको लागि काम गरिरहेका छौं । उद्यमशिलतामा सबै भन्दा बढी काम निजी क्षेत्रले गरेका छन् । हामी निजी क्षेत्र, अन्तर्राष्ट्रिय संघ-सस्था समेत सो विषयमा सहकार्य गरेका छौं । पुँजी अभावका कारण इनोभेसन क्षेत्र पलायन नहोस भनेर प्रतिष्ठानले सबैसँग सहकार्य गरेर काम गर्ने हो । यस्तै स्वदेशकै केही गर्ने चाहना भएकाको लागि विभिन्न सीप, तालिम र कर्जाको साथै उनीको व्यवस्थापनको लागि काम गरिरहेका छौं । स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने निजी क्षेत्रको समेत महत्वपूर्ण योगदान छ । हामी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतको संस्थासँग समेत सहकार्य गरेर उद्यम क्षेत्रको विकासको लागि काम गरिहेको छ । हामी नयाँ उद्यमी बनाउन स्टार्टअप उद्यम कर्जाको सदुपयोग गर्ने तर्फ लागिरहेको छौं ।

तपाईको प्रतिक्रिया