सोमबार, आषाढ २४, २०८१
Monday, July 8, 2024

काठमाडौं – बेलायत (यूके)मा भएको संसदीय निर्वाचनमा किअर स्टार्मरको लेबर पार्टीले अध्यधिक बहुमत पाएपछि कन्जर्भेटिभ पार्टीका प्रधानमन्त्री ऋषि सुनकले राजीनामा दिएका छन् । राजा चार्ल्सलाई राजीनामा दिएर उनी बकिङ्गम दरबारबाट पूर्वप्रधानमन्त्रीको हैसियतमा बाहिरिए । अब लेबर नेता स्टार्मर यूकेको नयाँ प्रधानमन्त्री बन्ने छन् ।

यसअघि लेबर पार्टीको विजय स्वीकार गर्दै सुनकले पार्टीको पराजयका लागि क्षमायाचना गरेका थिए भने स्टार्मरले “अब परिवर्तन सुरु हुन्छ” भनेका थिए । विगत १४ वर्षदेखि कन्जर्भेटिभ पार्टीको सरकार रहेको यूकेमा यसपालि लेबर पार्टीले ६५० मध्ये ४१२ सीट जितेको हो । यूकेको संसद्‌मा बहुमतका लागि ३२६ सीट आवश्यक पर्छ ।

यसपालि हाउस अफ कमन्समा पुग्ने महिलाको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक छ । अहिलेसम्म २४० भन्दा बढी महिला उम्मेदवार सांसद निर्वाचित भइसकेका छन्। सन् २०१९ को निर्वाचनमा २२० महिला सांसद थिए । आफ्नो निर्वाचन क्षेत्र सुरक्षित रहेको पक्का भएपछि सुनकले लन्डन फर्किएर राजासँग भेट गरेका थिए । पत्नी अक्षता मूर्तिसँग बकिङ्गम दरबार गएका सुनकले राजालाई आफ्नो राजीनामा बुझाए ।

अब के हुन्छ
यूकेमा राजाले सबैभन्दा धेरै सीट जितेको दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । बहुमत पाएको दलका नेता स्टार्मर अब प्रधानमन्त्री नियुक्त हुने छन् । अब राजा र सर किअर स्टार्मरबीच भेटघाट हुने छ । त्यस क्रममा राजाले स्टार्मरलाई नयाँ सरकार गठन गर्न र सरकारको नेतृत्व गर्न निम्तो दिने छन् ।

नराम्रो चुनावी नजिता बेहोरेका ऋषि सुनकले यसअघि ‘टेन डाउनिङ स्ट्रीट’ भनिने प्रधानमन्त्री कार्यालय छोडे । त्यहाँबाट बाहिरिँदै गर्दा उनले यूके संसारकै सबैभन्दा उत्कृष्ट देश भएको बताए । उनले आफ्ना सहकार्मी र परिवारलाई धन्यवाद पनि दिए । उनले लेबर नेता स्टार्मरको प्रशंसा गर्दै उनी शालीन सार्वजनिक छवि व्यक्ति भएको र आफूले उनको सम्मान गर्ने गरेको बताए । उनले आफू केही समयपछि कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट पनि हट्ने घोषणा गरे।

संसद्‌मा दोस्रो धेरै सीट जित्ने पार्टीका नेता प्रमुख प्रतिपक्षी दलका नेता बन्छन् । नवनिर्वाचित संसद्को पहिलो बैठक जुलाई ९ मा बस्ने छ । बीबीसीको प्रक्षेपणमा यसपालि ६० प्रतिशतजति मात्रै मत खसेको देखिएको छ । त्यसमध्ये लेबर पार्टीले ३५ प्रतिशतजति, प्रधानमन्त्री ऋषि सुनकको कन्जर्भेटिभ पार्टीले २४ प्रतिशतजति अनि रिफर्म यूके पार्टीले १५ प्रतिशतजति मत पाएको देखिन्छ । अहिलेसम्मको निर्वाचनमा यसपालि कन्जर्भेटिभ पार्टीले पाएको मत सबैभन्दा कम हो ।बिहीवार भएको मतदानमा ‘एक्जिट पोल’ भनिने सर्वेक्षणहरूले स्टार्मरको लेबर पार्टीले फराकिलो जित हात पार्ने देखाएका थिए । एक्जिट पोल वास्तविक नतिजा नभए पनि विगतका निर्वाचनहरूमा यस्ता सर्वेक्षणहरूको प्रक्षेपण मिलेको देखिन्छ ।

प्रधानमन्त्री बन्न लागेका सर किअर स्टार्मर को हुन् ?
कानुनी पृष्ठभूमिका सर किअर स्टार्मर सन् २०१५ मा मात्रै यूकेको सांसद बनेका हुन् । लन्डनको ‘होल्बर्न एन्ड सेन्ट प्यान्क्रस’ क्षेत्रबाट निर्वाचित भएपछि उनी सांसद बनेका थिए । लेबर पार्टीमा ‘छाया गृहमन्त्री’को जिम्मेवारी पाएका स्टार्मरलाई सन् २०१९ मा जेरमी कोर्बिनको स्थानमा पार्टी नेताको जिम्मेवारी दिइएको थियो ।

लेबरलाई दोस्रो विश्वयुद्धपछि दोस्रो धेरै मत
बीबीसी, आईटीभी न्यूज र स्काई न्यूजले गरेका एक्जिट पोलहरूमा दोस्रो विश्वयुद्धपछि लेबर पार्टीले सबैभन्दा दोस्रो धेरै सीट जित्ने देखिएको छ । सन् १९९७ मा टोनी ब्लेअरले निकै फराकिलो जित हासिल गरेका थिए ।

होबेन एन्ड सेन्ट प्यान्क्रसबाट निर्वाचित भए पछि स्टार्मरले “परिवर्तनको आरम्भ भएको” र आफूहरूले “काम गरेर देखाउने समय आएको” प्रतिक्रिया दिएका छन् । स्टार्मरले सामाजिक सञ्जाल ‘एक्स’मा आफ्नो पार्टीलाई विश्वास गरेर मत दिएकोमा मतदाताहरूलाई धन्यवाद दिएका छन् ।रक्षामन्त्री र पूर्वप्रधानमन्त्री पनि पराजित
प्रधानमन्त्री सुनकको कन्जर्भेटिभ पार्टीका कतिपय शीर्ष नेताहरूले समेत निर्वाचनमा पराजय बेहोरेका छन् ।

पूर्वप्रधानमन्त्री लिज ट्रस ६०० मतले पराजित भएकी छन् । रक्षामन्त्री ग्रान्ट श्याप्स लेबर पार्टीका उम्मेदवारसँग पराजित भएका छन् । यद्यपि सुनकको सरकारमा अर्थमन्त्री रहेका जेरमी हन्ट साँघुरो मतातन्तरले विजयी भएका छन् । यद्यपि मतसर्वेक्षणहरूमा उनी पराजित हुने सम्भावना देखिएको थियो ।

लेबर पार्टीबाट निलम्बित नेता जेरमी कोर्बिन स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका छन् । उनले लेबर उम्मेदवारलाई पराजित गरेका हुन् । कोर्बिन सन् १९८३ देखि इस्लिङ्टन नोर्थ निर्वाचन क्षेत्रबाट उठ्दै आएका छन् । यहुदीविरोधी भावनाबारे टिप्पणी गरेपछि उनी लेबर पार्टीको कारबाहीमा परेका थिए । -बीबीसी

तपाईको प्रतिक्रिया