शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

काठमाडौं – भारतको इन्दिरा गान्धी इन्टरनेशनल विमानस्थलमा सुरक्षाकर्मीहरूले २४ वर्षीय युवकलाई पक्राउ गरेका छन् । ती युवक ६७ वर्षको ज्येष्ठ नागरिक बनेर क्यानडा जाने दाउमा थिए ।

युवकको साथमा नक्कली पासपोर्ट पनि भेटिएको छ । यो घटना १८ जुनको हो । ५:२० बजे आसपास प्रोफाइलिङ र बिहेभियर डिटेक्शनका आधारमा सीआईएफएफका जवानले विमानस्थलको टर्मिनल ३ को चेक–इन क्षेत्रमा एक यात्रीलाई सोधपुछका लागि रोके ।

यस क्रममा ती वृद्धले आफ्नो नाम रशविंदर सिंह सहोता भएको र उमेर ६७ वर्ष बताए । पासपोर्टमा उनको जन्ममिति सन् १९५७ अक्टोबर २ थियो । उनी एयर क्यानडाको एसी ०४३-एसटीडी २२५० उडानबाट जाँदै थिए । पासपोर्टमा उल्लेख गरिएको उमेरभन्दा ती वृद्ध निकै कान्छो जस्तो देखिन्थे । आवाज र छाला पनि जवानको जस्तो थियो । पासपोर्टमा दिइएको विवरणसँग ती व्यक्तिसँग मेल खाएन ।

नियालेर हेर्दा ती व्यक्तिले आफ्नो दाह्री र कपालमा सेतो रङ्ग लगाएको थाहा भयो । सायद बुढो देखियोस् भनेर चस्मा लगाएका थिए । शंका लागेर तलासी लिने क्रममा मोबाइलमा अर्को पासपोर्टको सफ्ट कपी भेटियो । त्यसमा ती व्यक्तिको उमेर २४ वर्ष लेखिएको थियो । जाली पासपोर्टको मामिला भएकोले ती पुरुषलाई थप कानूनी कारवाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ । – एजेन्सी ***

तपाईको प्रतिक्रिया