बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

नागोया – नेपाल फेस्टिभलको पहिलो दिन नेपाली र जापानीहरूको भिड देखिन्थ्यो । नेपाली कला संस्कृतिमा नेपाली मात्रै होइन, जापानीहरू पनि रमाई रहेका देखिन्थे ।नेपाली कला संस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले फेस्टिभलको आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवम् तेस्रो नेपाल फेस्टिभल मूल आयोजक समितिका संयोजक देव कुमार घिमिरेले जानकारी दिएका छन् । फेस्टिभल सुरु हुन पूर्व शनिवार विभिन्न भेषभूषामा सजिएका टोलीहरूले झाँकी सहित जापानको नागोया सहरको विभिन्न क्षेत्र परिक्रमा गरिएको थियो ।फेस्टिभलमा नेपालका दुरदराजमा समेत प्रयोग हुने ढिकी, जाँतो लगायत थुप्रै चलन चल्तीका सामानहरू हेर्न पाइने एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले जानकारी दिए । फेस्टिभलमा आइची प्रिफेक्चर गभर्नर, नागोया सिटीका मेयर ,नेपाली राजदूतावास जापानका महामहिम राजदूत दुर्गाबहादुर सुवेदीलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा जापान र जापान बाहिरबाट एनआरएनए अभियन्ताहरूको उपस्थिति थियो ।फेस्टिभलमा पहिलो पटक जापानी प्रोफेसनल महिलाहरूले नेपाली गीत संगीतमा नृत्य गरेका थिए । फेस्टिभलको सांस्कृतिक कार्यक्रमको जिम्मा आदिवासी जनजाति महासंघले लिएको हो ।महासंघको यो फेस्टिभलको मुख्य सह–आयोजक पनि हो । नागोयामा रहेका विभिन्न सामाजिक संघ संस्थाहरू पनि फेस्टिभलमा सह-आयोजकको रुपमा रहेका छन् । फेस्टिभलका सांस्कृतिक संयोजक श्याम शीतल श्रेष्ठका अनुसार फेस्टिभलमा नेपाली लोक बाजा, पञ्चे बाजा, विभिन्न झाँकीहरू प्रस्तुति ले झनै आकर्षक बनाएको बताए ।फेस्टिभलका आर्थिक समिति संयोजक एवं फेस्टिभलका संरक्षक समेत रहेका दीपक कार्कीका अनुसार फेस्टिभललाई सभ्य र भव्य बनाउन लागि परेको बताउँछन् । आइतबार पनि फेस्टिभलमा झनै धेरै दर्शकहरूको आगमन हुने आयोजकले बताएका छन् ।

तपाईको प्रतिक्रिया