समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको ज्यान मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउने मिति तोकेको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले असार १२ गते फैसला सुनाउने निर्णय गरेको हो। यो मुद्दा १२ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन छ। सशस्त्र द्वन्द्वको समयमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोपमा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटा सहित माओवादी नेता-कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले जाहेरी नलिएपछि मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो। त्यसपछि, सर्वोच्च अदालतले २०६४ सालमा जाहेरी दर्ता गर्न आदेश दिएको थियो।
सर्वोच्चको आदेशपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेमा जाहेरी दर्ता भएको थियो र सापकोटा विरुद्ध पक्राउ पुर्जी पनि जारी भएको थियो। तर, २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारले पक्राउ पुर्जी नै तामेलीमा राख्ने निर्णय गरेको थियो। त्यतिबेला सापकोटा सञ्चारमन्त्री थिए। पूर्णिमायाले सरकारको निर्णय बदर गरेर सापकोटालाई कारबाहीको दायरामा ल्याउन माग गर्दै २०६९ सालमा रिट हालेकी थिइन्। २०७२ चैतमा न्यायाधीशद्वय सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले यो मुद्दा संवैधानिक इजलासमा पठाएको थियो।
त्यसपछि, संवैधानिक इजलासमा २० पटक पेशी तोकिए पनि धेरैजसो इजलासले हेर्न सकेन। गत वैशाख १२ गते यो मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेर सुनुवाइ थालिएको थियो। बुधबारको सुनुवाइपछि संवैधानिक इजलासले असार १२ गते निर्णय सुनाउने तय गरेको हो। सापकोटा पूर्व सभामुख हुन्।