समाचार सुन्नुहोस :
काठमाडौँ – संघीय संसद्को प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ। आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सम्बन्धी छलफल जारी रहनेछ। बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर अर्थमन्त्री वर्षमान पुनले दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
बैठकमा ‘विनियोजन विधेयक, २०८१’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिनेछ। साथै, अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’, र भन्सार महसुल विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।