समाचार सुन्नुहोस :
काठमाडौँ – संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गरिरहेका छन्। प्रधानमन्त्री दाहालले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेपनि अन्तिम समयमा स्थगित भएको थियो। आज प्रधानमन्त्री दाहालको निमन्त्रणामा कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र प्रमुख सचेतक रमेश लेखकलगायतका नेताहरु छलफलका लागि बालुवाटार पुगेका छन्।
कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ। कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो।
त्यसअघि जेठ १ मा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि कांग्रेसको अवरोधकै कारण धन्यवाद प्रस्ताव समेत पारित हुन पाएको छैन।