समाचार सुन्नुहोस :
काठमाडौँ – सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर सदन अवरुद्ध गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँग एक पटक निर्णायक वार्ता गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई बेलुका ६ बजे छलफलमा बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससंग संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्ने छन् ।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । तर सत्ता पक्ष कांग्रेसको मागमा असहमत छ । यसमा सहमति जुट्न नसक्दा संघीय संसद प्रभावित हुँदै आएको छ ।
यही विषयमा विवाद हुँदा बिहीबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेल नै भएको थियो । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले बिहीबारको घटनाको निन्दा गर्दै सभामुखको बैठक सन्चालन गर्दाको भूमिका माथि समेत प्रश्न उठाएको छ ।