काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस का नेताहरुबीचको बैठकमा प्रधानमन्त्री सहकारी प्रकरणको अनुसन्धान समिति बनाउन सकारात्मक भएका हुन् ।
छलफलपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग नेपाली काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राखेको र प्रधानमन्त्री सो विषयमा सकारात्मक भएको बताए ।
उनले भने, ‘हामीले सहकारी सन्दर्भमा जे कुरा उठाउँदै आएका छौँ, संसदीय छानबिन समिति गठन गर्ने कुराका बारेमा हामीले आफ्ना कुरा राखेका छाैँ । प्रधानमन्त्रीज्यूसँग यो बारेमा कुराकानी भयो । हामीले आफ्ना कुरा राखेका छौँ । प्रधानमन्त्रीजीले सकारात्मक ढंगले लिनुभएको छ । सकारात्मक कुरा नै छ । हामीले हाम्रो कुरालाई यथावत् राखेका छौँ । प्रधानमन्त्रीजीले सकारात्मक कुरा गर्नुभएको छ । भोलि हाम्रो संसदीय कार्यसमितिको बैठक १ बजे र संसदीय दलको बैठक २ बजे छ, त्यहाँबाट निर्णय गर्नेछौँ ।’
प्रमुख सचेतक लेखकले काँग्रेसले सोमवार बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने पनि बताए । कांग्रेसको मागमा सत्तापक्ष सकारात्मक नदेखिएपछि संसद्को गतिरोध अन्त्य हुन सकेको छैन । आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले सक्रियता देखाएका हुन् ।