काठमाडौं – बागमती प्रदेशमा सोमबारदेखि तामाङ र नेपाल (नेवारी) भाषा पनि सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन हुँदैछ । बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० लागू हुने भएको हो ।
२०८० कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको १८० दिनपछि सोमबार भाषा दिवस घोषणा गर्दै बागमती प्रदेश सरकारले कार्यान्वयनको औपचारिक आरम्भ गर्न लागेको हो ।
बिहान ९ बजे वसन्तपुरमा शुभारम्भ कार्यक्रम रहेको बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए । उनका अनुसार त्यसअघि नेवार र तामाङ समुदायका झाँकीसहितको र्याली निकालिँदैछ ।
भाषा ऐन लागु हुने दिनको अवसरमा सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा पनि दिइएको छ । अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्ड नेपाली बाहेक तामाङ र नेपाल भाषामा लेखिएको हुनेछ ।
यो ऐन लागू भएसँगै प्रदेशका सबै सरकारी निकाय र प्रदेश भित्रका स्थानीय तहले समेत तामाङ र नेपाल भाषामा समेत सेवा दिनु पर्नेछ ।