काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन् ।
रिमालले सामाजिक सञ्जालमा लेख्दै सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ भन्दै आक्रोश पोखेकी छिन् । उनले लेखेकी छिन्, ‘दोषी भए कानुन अनुसार सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ ।’
आइतबार सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासमा परेको थियो ।
यसअघि पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झझी (झगडिया झिकाउने) आदेश दिएका थिए । सामान्यतया यसअघि आदेश दिइसकेको न्यायाधीशले स्वार्थ बाझिने भन्दै मुद्दाको सुनुवाइ नगर्ने अभ्यास छ ।
रिमाल नेपाली क्रिकेट प्रतियोगिताहरूमा सधैं सहभागी भइरहेकी हुन्छिन् । टीयु र मुलपानीमा हुने प्रतियोगिताहरूमा प्रायः उनी दर्शकका रूपमा सहभागी हुने गर्छिन् ।