शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा दिने सरकारको निर्णय विवादित बनेपछि गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिएका छन् ।

कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कूटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने उनको भनाइ छ । सामाजिक सञ्जालमा धेरैले सार्वजनिक बिदाको औचित्यमा प्रश्न उठाएपछि लामिछानेले सामाजिक सञ्जालबाटै प्रतिक्रिया जनाएका हुन् ।

अनावश्यक बिदा, भीआइपी सवारी नामको नागरिकले पाउने सास्ती लगायतका थुप्रै विषयमा पदबहाल गरेको दिनदेखि नै आफूले लगातार काम गरिरहेको उनले बताएका छन् । ‘रिजल्ट आउँदैछ । जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो,’ उनले लेखेका छन्, ‘हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकदेखिका अभ्यासहरू सच्याउन समय त लाग्छ । धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनुभए पुग्छ ।’

लामिछानेले विश्व अर्थ राजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, नेपालका लाखौँ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कूटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका राजालाई नेपालमा ससम्मान स्वागत गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया