शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने आरोहीबाट ५० करोडभन्दा बढी राजस्व संकलन भएको छ । पर्यटन विभागले दिएको जानकारी अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न ३ सय ५२ जनाले अनुमति लिएका थिए । त्यसबाट रु ५० करोड ५६ लाख ६५ हजार तीन सय ९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहणमा आरोही आइरहेको जानकारी दिए । उनले हालसम्म सगरमाथा आरोहीबाट राजस्व संकलन भइरहेको बताए ।

सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति पाएका छन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका हुन् ।

यो वर्ष पनि अघिल्लो वर्षकै हाराहारीमा आरोहीहरू सगरमाथा चढ्न आउने अनुमान गरिएको छ । अघिल्लो वर्ष हालसम्कै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।

गत वर्ष रु ७६ करोड रोयल्टी रकम जम्मा भएको थियो । यस वर्ष रु ५६ करोड रोयल्टी उठिसकेको छ । थप पाँचदेखि सात करोड रोयल्टी जम्मा हुने अनुमान गरिएको छ ।

सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमति बापत् हालसम्म रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ रोयल्टी जम्मा भएको छ । यसमध्यै सगरमाथाबाट सर्वाधिक रोयल्टी उठेको हो ।

विभागको विवरणमा सगरमाथापट्टि ल्होत्से हिमालबाट रु एक करोड ७२ लाख ५८ हजार नौ सय २२ र मकालु हिमालबाट रु एक करोड ७७ लाख ४८ हजार रोयल्टी प्राप्त भएको छ ।

पर्वतारोहणसम्बन्धी नियमावली २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीलाई रु ११ लाख दस्तुर लाग्छ ।

नेपालीले रु ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् । मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ ।

वसन्त ऋतु आरोहणका लागि उपयुक्त याम मानिन्छ । यस याममा सगरमाथा आरोहण गर्न विभिन्न मुलुकबाट सर्वाधिक सङ्ख्यामा आरोही आउँछन् ।

तपाईको प्रतिक्रिया