Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी मानवअधिकारकर्मीले पाएकी छिन् । जेलमा रहेकी मानवअधिकारकर्मी ५१ वर्षीया नर्गिस मोहम्मदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

इरानमा महिलामाथि हुने दमनविरूद्ध उनले गरेको लडाइँ र मानवअधिकार प्रवर्द्धन र स्वतन्त्रताका लागि दिएको योगदानका लागि उनलाई नोबेल शान्ति पुरस्कार दिइएको हो । ३१ वर्षको जेल सजाय पाएकी उनी इरानको जेलमा छिन् । नोबेल पुरस्कार समितिले उनलाई ‘फ्रिडर फाइटर’ को संज्ञा दिएको छ, र छिट्टै जेलमुक्त गर्ने विश्वास समेत व्यक्त गरेको छ । पुरस्कार आगामी १० डिसेम्बरमा वितरण हुनेछ ।

‘यदि इरानका अधिकारीहरुले उनलाई रिहा गर्न सही निर्णय लिए भने उनी पुरस्कार वितरण समारोहमा उपस्थित हुनेछिन्, जुन हामीले अपेक्षा गरेका छौं’ समितिका प्रमुख बेरिट रिस–एन्डरसनले भने । उनी डिफेण्डर अफ ह्युमन राइट सेन्टरको उपप्रमुख हुन्, जसको स्थापना नोबेल पुरस्कार जितिसकेकी शिरीन एबादीले गरेकी थिइन् ।

नर्गिसलाई इरानको सत्ताले १३ पटकसम्म पक्राउ गरिसकेको छ । ५ पटक दोषी ठहर्‍याएको छ । ३१ वर्ष जेल सजाय र १५४ पटक कोर्रा हान्ने आदेश भएको छ । नोबेल पुरस्कार समितिले नर्गिसलाई यस्तो बेला नोबेल शान्ति पुरस्कार दिएको छ, जतिबेला इरानमा महिलाहरुले स्वतन्त्रताका लागि आन्दोलन गरिरहेका छन् । सेप्टेम्बर २०२२ मा २२ वर्षीया महशा अमीनीको प्रहरी हिरासतमा मृत्यु भएपछि महिलाहरुले आन्दोलन सुरु गरेका थिए, जुन छिट्टै देशभर फैलियो । यसक्रममा महिलाहरुले सार्वजनिक रुपमा कपाल मुण्डन गरेका थिए ।

तपाईको प्रतिक्रिया