शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

हामी बसेको जापानको नेपाली समाजलाई समष्टिगतरुपमा हेर्ने हो भने हाम्रो वर्तमान सन्तोषजनक छैन । अपवादलाई छोडेर हामीले समाज सुधारको दिशामा खासै प्रभावकारी प्रयास गर्न सकेनौ । नेपाली समुदायबाट यसो बाहिरी दुनियाँ नियालेर हेर्‍यौ भने नजिकै भियतनामी समुदाय, कोरियन समुदाय, चिनिया, भारतीय, बंगलादेशी लगायतका विदेशी समुदायको अवस्था हामीले धेरै भिन्न देख्न सक्छौं । आफ्नो उन्नती प्रगतिका खातिर ब्यापार, ब्यवसाय, उद्यमशिलता र करियरलाई कसरी अभिबृद्धि गर्ने जस्ता अति आवश्यक बिषयहरुमा मात्र उनीहरु केन्द्रीत भएको देखिन्छन् । जापानमा बस्दै गर्दा नियमानुसार तिर्नुपर्ने सबै तिरोभारो तिर्ने, आफ्नो कर्त्तब्य पालना गर्ने र जापानमा नियमानुसार पाईने सबै सेवा सुविधाहरु पनि मजासंग लिने सन्दर्भमा उनीहरु हामीभन्दा धेरै अगाडि छन् र सचेत छन् । तर हामीभने प्रधान बिषयभन्दा सहायक बिषयलाई बढि महत्व दिने, बिना उपलब्धिका कार्यक्रमका लागि कार्यक्रम गर्ने, अनुत्पादनशील बिषय र बहसमा समय खर्चिने, जान्ने, सिक्ने, सिकाई माग्ने, अध्ययन गर्ने, आफ्नो दक्षता-क्षमता अभिबृद्धि गर्ने जस्ता सवालमा ध्यान नदिने जस्ता प्रवृत्तिले एकातिर गाँज्दै लगेको छ भने अर्कोतिर हामी नेपालीहरुमा कुनै न कुनैरुपमा छोटे नेता हुने भोक सवार भएको देखिन्छ । आफुमा के क्षमता र विज्ञता छ, आफ्नो बारेमा पब्लिकले कसरी हेरेको छ र आफु कुन कामको लागि फिट छु भन्ने पटक्कै हेक्का नै नराखेर नेता बन्ने भोक प्रवृत्तिले हाम्रो समाज गिजोल्दै छ । यस खालको प्रवृत्तिलाई निश्चित स्वार्थको रोटी सेक्न पल्केका अर्काथरिबाट उक्साउने, मच्चाउने र कुनै न कुनैरुपमा मलजल गर्ने एवं प्रोत्साहित गर्ने काम भईरहेकै छ । यसप्रकारका गतिविधिबाट सकारात्मक परिणामको अपेक्षा गर्न सकिदैंन ।

हामी जापानमा बस्दै गर्दा हाम्रो औसत धरातल हेर्ने हो भने जापानी भाषामा कमजोर, अंग्रेजी भाषामा पनि कमजोर अझ आफ्नै भाषा नेपालीमा त झन ध्वस्तै छ, त्यस्तै लेख्दै, पढ्दै काम चलाउँदै आईरहेका छौं । संवादका र संवाहकका माध्यम भाषा भनेको अत्यन्तै महत्वपूर्ण र सशक्त बिषय हो । जानकारहरुका अनुसार बोल्दा होस् या लेख्दा प्रयोग हुने भाषा र प्रस्तुतीबाट निजको लेभल सहजै मापन गर्न सकिन्छ । विश्वकै उच्च चेत भएका र सभ्य मानिस बस्ने जापानी समाजमा दशकौंदेखि जरोकिलो गाडेर बस्दै गर्दा पनि हामी फेरिएनौ र हाम्रो सोच फेरिएन । ठाउँ-कुठाउँ हल्ला गर्न छोडेनौ, झैंझगडा गर्न छोडेनौं, फोहरामैला गर्न छोडेनौ, अरुका नकारात्मक टिप्पणी गरेर समय खेर फाल्न छोडेनौ, सानातिना ब्यापार ब्यवसायमा पनि कपीपेष्ट गर्न छोडेनौ, न आफु हुने न त अरुलाई हुन दिने पारा छोडेनौ, अरुले अरुलाई जिस्काउँछ लाटोले आमालाई जिस्काउँछ भनेझैं अरुले अन्य समुदायसंग प्रतिस्पर्धा गर्छन् नेपालीले नेपालीसंगै प्रतिस्पर्धा गर्न छोडेनौ । हामी नेपालीहरु यसरी कहिले उभों लाग्ने हो बिषय बडो गम्भीर छ । तर यतातिर सोच्ने फुर्सद कसैलाई छैन ।

जापानी समुदायको दृष्टिकोणमा मिहिनेती हुन्छन् भन्ने छाप छोडेका नेपालीहरुले आफूमाथि लागेको माथिका दाग मेटाउन भने अब सचेततापूर्वक सुध्रिनु आवश्यक छ, एक नेपालीको बदनाम हुँदा देशकै बदनाम हुने भएकोले सके राम्रो गरौं, नसके नराम्रो नगरौं भन्ने चेत हामी सबै नेपालीमा आउन जरुरी छ । समग्र सोसाइटीको स्तरोन्नतीको बिषयलाई हामीले अहिलेसम्म खासै ध्यान दिन सकेनौं । हाम्रा कार्यक्रमहरु खँदिला होऊन्, पेचिला होऊन्, गुणस्तरिय होऊन् र समग्रमा सार्थक र परिणाममुखी होऊन् भन्ने बिषयमा हामीले कहिलै बहस गरेनौं । हाम्रा कार्यक्रमहरुमा अब क्वालिटी मेन्टेन गर्न जरुरी छ । समयको महत्वलाई शुन्य सहनशिलतामा झार्न आवश्यक छ । संघसंस्थाहरुका कार्यक्रमप्रति पब्लिकको खासै रुची छैन । पहिले पहिले भब्य प्रेक्षालयमा सयौं जनाको उपस्थितिमा हुने सभा, समारोह तथा अधिवेशनहरु अहिले जसको कार्यक्रम हेरे पनि मुश्किलले ३०, ३५ जनाको उपस्थितिमा साँगुरो रेष्टुरेन्टमा हुने गरेको पाईन्छ । कारण जोगीभन्दा खरानी धेरै हुनु त्यसमाथि कार्यक्रम निरर्थक र पट्यांइलाग्दो हुनु नै हो । त्यसैले अब हामी निर्ममतापूर्वक विगतको समीक्षा गर्दै सच्चिएर अगाडि बढ्नुपर्छ, अनावश्यक भद्दा लोकाचार र लोकरिझ्यांई प्रवृत्तिलाई तिलाञ्जली दिनुपर्छ । कसैले कसैलाई चाहिनेभन्दा बढि देवत्वकरण र दानवीकरण गरेर समाजलाई दुषित बनाउन दिनुहुँदैन ।***

 

तपाईको प्रतिक्रिया