काठमाडौँ – प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफ्नो अपराध ढाकछोप गर्न उच्चस्तरीय छानबिन समितिको माग राखेको आरोप नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले लगाएका छन् । ‘यतिखेर उच्चस्तरीय छानबिन समिति गठन गर्दा सीआईबी मोरल्ली डाउन हुन्छ, उसको स्पिरिट डाइभर्ट हुन्छ, अपराधीको नजिक पुग्न लाग्दा झन् टाढिने सम्भावना हुन्छ । उच्चस्तरीय छानबिन समितिले रिपोर्ट तयार पार्दा पनि सीआईबीकै सहयोग लिने हो । कि सरकारले सीआईबीलाई हाम्रो अंग होइन भन्नुपर्यो कि उसको काममा विश्वास गर्नुपर्यो,’ चौधरीले भने, ‘सीआईबीले ३५ दिनभित्र छानबिनलाई निष्कर्षमा पुर्याउँछु भनेको छ । के उच्चस्तरीय छानबिन समितिले ३५ दिनभित्र निष्कर्ष दिन सक्छ ? आफूले गरेका अपराध लुकाउन सीआईबीलाई अनुसन्धान गर्नै नदिने ? यो अत्यन्त गलत कुरा हो ।’ नेकपा एमालेले राजनीतिक स्वार्थपूर्तिका निम्ति उच्चस्तरीय छानबिन समितिको माग उठाएर संसद् अवरोध गरिरहेको पनि चौधरीले बताए । उनले थपे, ‘निदाएको मानिसलाई उठाउन सकिन्छ । निदाएको स्वाङ पारेकालाई उठाउन गाह्रो छ । एमालेले टोपबहादुर रायमाझीलाई पुनःस्थापन गर्न उच्चस्तरीय छानबिन समितिको माग गरिरहेको छ । यसमार्फत उसले राजनीतिक स्वार्थपूर्ति गर्न खोजेको छ ।’
सुन तस्करीमा एमाले अध्यक्ष केपी शर्मा ओली कुनै न कुनै रुपमा मुछिने दाबी पनि उनले गरे । चौधरीले भने, ‘सुन तस्करीमा केपी ओली कुनै न कुनै रुपमा मुछिन्छन्, मुछिन सक्छन् । त्यसकारण उनले सीआईबीको अनुसन्धान निष्कर्षमा पुग्न नसकोस् भनेर डाइभर्ट गर्न खोजेका हुन् । सीबीआईले अरु फाइल पनि खोल्ने अवस्था छ । गिरिबन्धु टीस्टेटमा नेकपा एमाले र केपी ओली लगायतका नेताहरुको अनुहारमात्र छ । एमालेले सीआईबीले अनुसन्धान गर्नै नपाओस् भनेर संसद्मा नाराजुलुस गरेको हो ।’ एकीकृत समाजवादी सरकार ढाल्न लागेको हो भन्ने प्रश्नमा प्रमुख सचेतक चौधरीले भने, ‘आम जनतामा निराशा छ । दलहरुले सरकार चलाउन सक्दैनन् भन्ने भाष्य बनेको छ । यो सरकार पाँचै वर्ष चलाउनुपर्छ । तर कुन नेता (झलनाथ खनाल) लाई के मुड चल्छ, प्रतिक्रियाहरु आइरहन्छन् । प्रचण्डले मात्र कति मिलाउनु होला र ? मिलाउने दायित्व हाम्रो पनि हो ।’
कोही गलत काम गर्छ, कीर्ते काम गर्छ भने उसलाई सोकेसमा राखेर पूजा गरेर गर्न नसकिने पनि उनले बताए । चौधरीले थपे, ‘नक्कली भुटानी बनाउने, सुन तस्करीमा लाग्नेलाई सरकारले टुलुटुलु हेरेर बस्दैन । त्यसमा कोही कांग्रेस, कोही समाजवादी, कोही माओवादीका मान्छे भनेर जोगाउने कुरा आउँदैन । प्रचण्ड कमरेडले गरेका काम राम्रा छन् ।’ साथै उनले सबै नेताहरुको सम्पत्ति छानिबन गर्नुपर्ने औंल्याए ।