काठमाडौं – गायक तथा अभिनेता रविन तामाङको पार्थिव शवलाई आइतबार अन्त्येष्टि गरिने भएको छ । तामाङ परम्परा अनुसार स्वयम्भूमा अन्तिम संस्कार गरिने रविनको व्यवस्थापन समूहका आशिष पराजुलीले जानकारी दिए । त्यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि रविनको शवलाई बिहान १० बजेदेखि १ बजेसम्म कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ ।
रविनका दुई छोरी छन् । उनीहरु फ्रान्समा बसोबास गर्ने भएकाले नेपाल आइपुग्न समय लाग्ने र सोहीअनुसार आइतबार अन्त्येष्टि तय भएको जनाइएको छ । मंगलबार बेलुका तामाङ बुढानीलकण्ठ चिसेनीस्थित निवासमा मृत भेटिएका थिए । प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा उनको मृत्यु मुटुको समस्याले भएको हुन सक्ने जनाइएको छ ।
रविन एण्ड द न्यु रिभोलुसनका गायक समेत रहेका ६० वर्षीय तामाङले पछिल्लो समय फिल्ममा समेत अभिनय गर्दै आएका थिए । नेपाली रक गायनलाई समाजसँग जोड्ने मामिलामा उनको योगदान महत्वपूर्ण मानिन्छ । यसैबीच, नेपाली कांग्रेसले समेत विज्ञप्ति जारी गर्दै तामाङको निधनले नेपाली संगीत क्षेत्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।