काठमाडौं – पश्चिमी केन्याको लन्डियानीमा एउटा भयानक सडक दुर्घटना भएको छ । शुक्रबार साँझ भएको दुर्घटनामा ४८ जनाको मृत्यु भएको प्रहरी र प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।
ढुवानी कन्टेनर बोकेको लरी सडकबाट ओर्लिएर धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि यसका धेरै भिडियोहरु सार्वजनिक भएका छन् । भिडियोहरूले क्षतिग्रस्त मिनी बसहरू र ट्रकहरू साथै कार र मोटरसाइकलका टुक्राहरू देखिएकाे छ ।
रिपोर्टका अनुसार क्षेत्रीय प्रहरी कमाण्डर टम ओडेराले घटनाको जानकारी दिएका छन्। उनले शुक्रबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ४८ पुगेको बताए । दुर्घटनाको समयमा त्यहाँ उपस्थित चालक पिटर ओटिएनोले तीव्र गतिमा एउटा ट्रेलर आइरहेको देखेको बताए । ‘मैले कारलाई घुमाएँ र ठोक्किनबाट जोगिए,’ उनले भने । उनका अनुसार करिब २० वटा शव आफ्नै आँखाले देखेको बताए । यस क्रममा अन्य धेरै शव पनि सवारीसाधन मुनि थिए ।
लरीले ६ भन्दा बढी सवारी साधनलाई ठक्कर दिएको जनाइएको छ । यससँगै धेरै पैदल यात्रुलाई पनि कुल्चेकाे छ । मृत्यु हुनेमा धेरै युवा तथा व्यवसायी समेत रहेका छन् । केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘लण्डियानीमा भएको भयानक सडक दुर्घटनामा आफ्ना प्रियजन गुमाएका परिवारप्रति राष्ट्र शोकमा छ ।’
स्मरण रहोस, शुक्रबार साँझ भएको दुर्घटना केन्याको इतिहासमा सबैभन्दा खराब सडक दुर्घटना मध्ये एक हो । गत वर्षको सुरुमा मध्य केन्यामा एउटा बस पुलबाट खसेर नदीमा खसेको थियो। उक्त दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो ।