काठमाडौँ – एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ६ अर्ब ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ। नेपालको आन्तरिक तथा बाह्य व्यापार सम्बन्धी नीतिगत सुधार योजना कार्यान्वयनमा खर्च गर्ने गरी एडीबीले ५ करोड अमेरिकी डलर ऋण स्वीकृति गरेको हो ।
उक्त ऋण नेपालको जीडीपीमा व्यापारको हिस्सा बढाउने लक्षमा प्रयोग गरिने छ। सरकारले कार्यान्वयनमा ल्याएको भन्सार सुधार र आधुनिकीकरण योजना कार्यान्वयनमा यो ऋण उपयोग हुने भएको छ । यसले नेपालको व्यापार र उद्योग क्षेत्रको विकासले प्रतिस्पर्धा बढाउनुका साथै समग्र मुलुकलाई आर्थिक वृद्धितर्फ लैजान सहयोग गर्ने विश्वास लिइएको छ। भन्सार क्लियरेन्सलाई सहज बनाउन र भन्सार मूल्यांकन डाटा बेस स्थापना गर्न तथा निर्यातमा कागजको प्रयोग घटाउन समेत भूमिका खेल्ने एडीबीले बताएको छ ।