काठमाडौँ – नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका कारण स्थागित भएको बागमती प्रदेश सभा बैठक आज (बुधबार) बस्ने भएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट छलफल अगाडि बढाउने क्रममा एमाले र राप्रपाका प्रदेश सभा सदस्यले अवरोध सिर्जना गरेपछि मङ्गलबार दिउँसोको बैठक स्थगित गरी साँझ पौने ६ बजेका लागि बोलाइएको थियो । तर एमाले र राप्रपाले बजेटप्रति असन्तुष्टि जनाउँदै बैठक बस्न नसक्ने बताएपछि आज बस्ने गरी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताबीच छलफल भएको थियो ।
यसअघि सोमबार बसेको कार्य व्यवस्था समिति बैठकले समेत मङ्गलबारबाट बजेटमाथि छलफल गर्ने कार्य सूची तय गरेको थियो । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य छिरिङदोर्जे लामाले ११ बजेबाट बजेटमाथि छलफल गर्ने गरी बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँले प्रदेश सभा बैठकभन्दा पहिले दलका नेताहरुबीच बजेटमाथिको छलफल अगाडि बढाउने बारेमा छलफल हुने बताउनुभयो ।बैठक अघि दलहरुबीच सहमतिको प्रयास गरिने भएको छ । बजेटमा एमाले र राप्रपाको माग अनुसार सम्बोधन र सहमति जुट्न नसकेमा पुनः बैठक स्थगित हुने सम्भावना रहेको छ ।एमाले र राप्रपाले संसदीय दलले बजेट मुख्यमन्त्री र मन्त्रीहरुको जिल्लामा केन्द्रिकृत गरेर आएको आरोप लगाएका छन् ।
प्रदेश सभाको मङ्गलबार बसेको बैठकमा बजेटमाथिको छलफल सुरु गर्न लाग्दा अवरोध गर्दै एमाले र राप्रपाका प्रदेश सभाका सदस्यहरुले धादिङ, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा बढी बजेट विनियोजन गरेको प्रति आपत्ति जनाएका हुन् ।बैठकमा बोल्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बजेटप्रति असन्तुष्टि जनाउँदै बजेट पुनर्लेखन गर्न माग गर्नुभएको थियो ।धादिङ, सिन्धुपाल्चोक र नुवाकोट जिल्लामा मात्र कुल विकास बजेटको सात अर्ब रुपियाँ हाराहारी अर्थात कुल बजेटको २१ प्रतिशत बजेट विनियोजन भएको भन्दै उहाँले डिप बोरिङ्ग र पहिरो नियन्त्रण, सडक निर्माणका लागि पाँच लाख रुपियाँ बजेट विनियोजन गर्नु लज्जाजनक र गैर जिम्मेवारपूर्ण कार्य भएको बताउनुभयो ।
प्रमुख विपक्षी दलसँग योजना माग गरेर पनि समावेश नगरेको बताउँदै उहाँले अगाडि भन्नुभयो अधिकांश योजना चिर्कटोमा दिएका आधारमा बजेटमा समावेस गरिएका छन् ।यसअघि प्रदेश सभाको मङ्गलबारको दोश्रो बैठक सुरु भएलगत्तै एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यहरु बजेट अन्यायपूर्ण ढङ्गले आएको भन्दै उठेर आपत्ति जनाएका थिए । एमाले र राप्रपाका प्रदेश सभाका सदस्यहरुको विरोधका बीच प्रदेश सभाका प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले आगामी आवको बजेटमाथि सामान्य छलफल गरियोस् प्रस्ताव राख्नुभएको थियो ।
विपक्षी दलको निरन्तर विरोधपछि सभामुख भुवनकुमार पाठकले थपलियालाई बोल्न समय दिनुभएको थियो । थपलियाले बोलेर टुङ्ग्यापछि सन्तुलित ढङ्गले आउनु पर्ने अन्यथा बजेटको छलफलको प्रक्रिया अगाडि बढ्न नसक्ने भन्दै एमाले र राप्रपाका प्रदेश सभाका सदस्यहरुले बैठक अवरोध गरेका थिए ।