काठमाडौं – नेपाली कांग्रेसका सांसद दीपक गिरीले बजेट भाषणको समय परिवर्तन गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । हरेक जेठ १५ गते बिहान १० बजे नै प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्नुपर्ने उनले माग गरे । हाल बजेट अपराह्न ४ बजे प्रस्तुत गरिँदै आएको छ । “बजेट भाषण सधैँ बेलुका ४ बजे हुने, के कारणले ४ बजे हुने ? किन बिहान १० बजे, १२ बजे नहुने ? मैले कारण के रहेछ भनेर हेरेँ – जति बेला भारतमा ब्रिटिस इन्डिया सरकार थियो, त्यति बेला भारतमा ४ बजेट भनिँदो रहेछ,” उनले भने,“ त्यति बेला इंग्ल्यान्डमा बिहानको १० बज्दो रहेछ । त्यति बेला त्यहाँका ब्रिटिसलाई सुन्नु जरुरी रहेछ । त्यो कारण चलेको चलन नेपालमा आयो । त्यो सुर्धानुपर्यो ।”
सांसदबारे जनताले नबुझेकाले आफूलाई ‘झोले सांसद’ भन्न रुचाउने उनले बताए । “आफूलाई झोले सांसद भन्न रुचाउँछु । राति फोन आउँछ एउटा बुढीआमाको– बाबु, मेरो त एउटा खसी मर्यो नि, दुइटा खसी पालेको सांसद बाबुले केही गरिदिनुहुन्छ कि ! यस्तो छ नागरिकको बुझाइ,” उनले भने । सांसदले कानुन, विधेयक बनाउनुपर्ने भन्ने नागरिकलाई थाहा नभएको उनको भनाइ छ । उनले सांसदलाई वडाध्यक्षको स्तरमा दाँजेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई धन्यवाद समेत दिए ।
“म त सलाम गर्छु बालेनजीलाई । उहाँले हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो,” सांसद गिरीले भने, “चिन्न छोड्नुभयो होला भन्ने फोन आउँछ । जनताको स्तर यस्तो छ ।” सरकारमा भएकाहरूले शीर्ष नेताको क्षेत्रमा बढी बजेट राख्ने गरिएको भन्दै उनले आपत्ति जनाए ।